काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुनको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई दिनेबारे छलफल भएको छ ।
बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगाना, नेपाल प्रहरीका आइजिपी बसन्त कुँवर र सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यसँग छलफल गरेका हुन्।
छलफलमा महान्यायाधिवक्ता डा.पोखरेलले सङ्गठित अपराधको अनुसन्धान प्रहरीको कार्यक्षेत्र भएको उल्लेख गर्दै केन्द्रीय अनुसन्धान ब्युरोले गर्नुपर्ने बताएका थिए ।
सुन तस्करीको ‘सङ्गठित जालो’ बारे अनुसन्धान गर्न राजस्व अनुसन्धान विभागले सिआईबीलाई लेखेर पठाउनुपर्छ ।
सुन तस्करीको अनुसन्धान राजस्व छलीमात्रै नभएर अन्य अपराधमा पनि कसुर भएको भन्दै प्रहरीलाई जिम्मा लगाउनुपर्ने आवाज उठ्दै आएको थियो। तर विभागले प्रहरीसँग एक जना प्रहरीमात्रै माग गरेको थियो।
विभागले प्रहरीसँग सहयोग मागेपछि एसपी कृष्ण पंगेनीलाई पठाइएको थियो।
राजश्व अनुसन्धान विभागले ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पार गरेर बाहिरिएको सुनसहितको १५५ किलो ब्रेक शु बरामद गरेको थियो । यसमा चिनियाँ, भारतीय र बेल्जियन नागरिकसमेत पक्राउ परेका छन् ।