मेशान\चीन । एक जना कामदारमा कोरोना भाइरसको संक्रमण भएपछि चीनले ठूला बन्दरगाहमध्ये एक मानिने कार्गो बन्दरगाहको सेवा रोकेको छ । आंशिक रूपमा बन्द गरिएको बन्दरगाहका कारण विश्व व्यापारमै असर पर्ने चिन्ता व्यक्त गरिएको बीबीसीले लेखेको छ । एकजना कामदार कोभिड १९ को डेल्टा भेरिअन्टबाट सङ्क्रमित भएको पुष्टि भएपछि बुधवार निङ्गबाओ-जोसान बन्दरगाहका सेवा रोकिएको हो ।
पूर्वी चीनमा अवस्थित उक्त बन्दगाह विश्वकै तेस्रो धेरै व्यस्त कार्गो बन्दरगाह मानिन्छ । क्रिस्मसका लागि गरिने किनमेलअगाडि उक्त बन्दगाहका सेवा बन्द हुँदा आपूर्ति प्रणाली थप अवरुद्ध हुने खतरा उत्पन्न भएको समाचारमा उल्लेख छ । मेशान द्वीपमा रहेको उक्त बन्दगाहको टर्मिनल अर्को सूचना जारी नभएसम्म बन्द गरिएपछि एक चौथाइले कन्टेनर कार्गो सेवा कटौती भएको छ।
चीन र दक्षिण पूर्व एशिया तटबाट अमेरिकाको पूर्वी तटतर्फ पानीजहाजबाट सामान ओसारपसार गर्दा लाग्ने खर्च कीर्तिमानी स्तरमा पुगेका विवरणका बीच पछिल्लो समाचार आएको समेत बीबीसीले लेखेको छ । बेलायतका कतिपय व्यापारीले पहिल्यैदेखि सामान ओसारपसार गर्दा बढेको खर्चको दबाव महसुस गरिरहेको समेत समाचारमा जनाइएको छ । साङ्घाई र सिङ्गापुरपछि निङ्गबाओ-जोसान विश्वको ठूलो बन्दरगाह हो। त्यसका टर्मिनल लामो समयसम्म बन्द रहे भने विश्वको अर्थतन्त्रमा ठूलो असर पर्ने बताइएको छ ।