एक महिनामा कामको खोजिमा विदेशिए ७१ हजार नेपाली

काठमाडौं । एक महिनाको अवधिमा कामको खोजीमा ७१ हजार भन्दा धेरै नेपाली विदेशिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार मंसिर महिनामा नयाँ र पुनः श्रम स्वीकृति लिएर विदेश जाने नेपालीको संख्या ७१ हजार २७६ पुगेको हो । जुन चालु आव २०८०र८१ को एक महिनामा विदेशिएका नेपालीको सर्वाधिक संख्या हो । यो मंसिरमा अघिल्लो वर्षको यसै महिनामा भन्दा पनि धेरै नेपालीले आफ्नो गन्तव्य विदेश बनाएका छन् ।

२०७९ मंसिरमा ६८ हजार ५६४ जना नेपालीले नयाँ तथा पुनः श्रम स्वीकृति लिएका थिए । यस वर्ष असोजमा ५६ हजार २३५ र कात्तिकमा ४३ हजार ६२२ नेपालीले श्रम स्वीकृति लिएका थिए । यी दुई महिना मूख्य चाडबाडको सिजन मानिन्छ । त्यसलगत्तै झण्डै दोब्बर संख्यामा नेपाली विदेशिएका छन् । मंसिरमा मात्र ६ हजार ९३४ जना महिला कामको खोजीमा विदेशिएका छन् । यो महिनामा नयाँ श्रम स्वीकृति मात्र ३६ हजार ८० वटा जारी भएको छ ।

मंसिरमा विदेशिनेमध्ये धेरैजसो नेपाली तराईका जिल्लाका छन् । धनुषबाट ३६ सय २१, झापाबाट ३३ सय ९७, मोरङबाट ३१ सय २ र रुपन्देहीबाट २३ सय ९ जना विदेश गएका छन् । चालु आवको पहिलो पाँच महिनामा पौने ३ लाख नेपाली कामको खोजिमा विदेशिएका छन् । तथ्यांक अनुसार साउनदेखि मंसिरसम्म कुल २ लाख ७७ हजार ५९२ जना नेपालीले नयाँ तथा पुनः श्रम स्वीकृति लिएका छन् । गत आवको यसै अवधिको तुलनामा भने विदेशीनेको संख्या केही कम भएको छ । गत वर्ष ५ महिनामा ३ लाख ३९ हजार ८२ जना नेपाली कामको खोजिमा विदेशिएका थिए ।