काठमाडौं । चैत महिनामा रोजगारीका लागि विदेशिने नेपाली श्रमिकको संख्यामा बढेको छ । फागुनको तुलनामा चैतमा विदेश जान श्रम स्वीकृति लिनेको संख्या २ हजारले बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार चैत महिनामा ५५ हजार ५२३ जना नेपाली रोजगारीका लागि विदेश गएका छन् । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या गत जेठयता लगातार उकालो लागिरहेकामा पुसबाट घट्न सुरु गरेको थियो । चैत महिनामा बाहिरिएका साढे ५५ हजारमध्ये २७ हजार १५६ जनाले नयाँ श्रम स्वीकति लिएका हुन् ।
अन्यले श्रम स्वीकृति नवीकरण गरेका हुन् । फागुन महिनामा ५३ हजार ४५७ जना विदेश जान श्रम स्वीकृति पाएका थिए । माघ महिनामा यस्तो संख्या ५४ हजार ४७० जना थियो । वैदेशिक रोजगार विभागका अनुसार कोरोना महामारीका कारण दुई वर्षयता वैदेशिक रोजगारीमा आएको संकट हट्दै गएपछि विदेशिने नेपालीको संख्या नियमित गतिमा फर्किएको छ । अहिले पनि खाडी मुलुक कतार, साउदी अरेबिया र यूएईमा जाने नेपालीको संख्या धेरै छ । कुवेत, ओमान लगायतका देशमा पनि नेपालीहरु गइरहेका छन् । चैत महिनादेखि मलेसियाबाट पनि माग आउन थालेकाले अब विदेसिने नेपालीको संख्या केही बढेको हो ।