एक महिनामा विदेशबाट नेपालीले पठाए ७५ अर्ब ९६ करोड रेमिट्यान्स

Photo : NBA

काठमाडौं । चालु आर्थिक वर्ष २०७८\७९ को पहिलो महिना (साउन)मा विदेशमा रहेका नेपालीले करीव ७६ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल पठाएका छन् । तर, यो रकम अघिल्लो वर्षको यसै महिनाको तुलनामा भने १८ प्रतिशत कम हो । साउन महिनामा ७५ अर्ब ९६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउनमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या बढेर १३ हजार आठ सय जना पुगेको छ ।

अघिल्लो वर्षको साउनमा अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या ९९ प्रतिशतले घटेको थियो । साउनमा वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या दुई सय ८६ प्रतिशतले बढेर ११ हजार ६ सय २८ जना पुगेको छ । अघिल्लो वर्षको साउनमा यो सङ्ख्या ८० प्रतिशतले कम भएको थियो ।