एक वर्षमा १५ हजार विदेशी पर्यटकले गरे मनास्लु भ्रमण

गोरखा, १८ पुस । सन् २०२५ भरि १५ हजार विदेशी पर्यटकले मनास्लु क्षेत्रको अवलोकन भ्रमण गरेका छन् । बेमौसमी बाढीपहिरो, हिमपात र जेनजी आन्दोलनका बाबजुद पनि मनास्लु क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या वृद्धि भएको हो । त्यसअघि २०२४ मा मनास्लु क्षेत्र भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या १२ हजार ८०० थियो । मनास्लु संरक्षण क्षेत्र आयोजना ९एमक्याप०ले तयार गरेको अभिलेखअनुसार सन् २०२५ भरि १४ हजार ९८० जना पर्यटक गोरखाको मनास्लु क्षेत्र भित्रिएका छन् । चौध हजार ७३८ विदेशी, सार्क राष्ट्रबाट ३४४ र २४० जना स्वदेशी पर्यटक भित्रिएको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले जनाएको छ ।

एमक्याप प्रमुख सन्तोष शेरचनका अनुसार मनासलु क्षेत्र प्रवेश गर्नका लागि १४ हजार ७२१ जनाले अनलाइनमार्फत अनुमति लिएका थिए । यस्तै, १७ जना पर्यटकले एमक्यापको जगत र सामागाउँस्थित चेकपोष्टबाट अनुमति लिएको उनले जानकारी दिए । सन् २०२५ मा पर्यटन भित्रिएबापत रु तीन करोड ८५ लाख ८६ हजार संरक्षण क्षेत्र प्रवेश शुल्क सङ्कलन भएको एमक्याप प्रमुख शेरचन बताउँछन् । जसमध्ये सार्क राष्ट्रका पर्यटकबाट तीन लाख ४४ हजार र नेपाली पर्यटकबाट रु ४८ हजार सङ्कलन भएको छ । मनास्लु क्षेत्र प्रवेशका लागि सार्क राष्ट्रका पर्यटकले प्रतिव्यक्ति रु एक हजार र अन्य राष्ट्रका पर्यटकले रु तीन हजार बुझाउनुपर्ने व्यवस्था रहेको उनको भनाइ छ ।

“पर्यटकले काठमाडौँको भृकुटीमण्डप र पोखराको ड्यामसाइटस्थित काउन्टरमा प्रवेश दस्तुर बुझाउनुपर्ने प्रावधान छ”, उनले भने, “यी दुवै ठाउँमा प्रवेश दस्तुर शुल्क नबुझाएका पर्यटकले सो क्षेत्र प्रवेश गर्न एमक्यापको जगत र सामागाउँस्थित चेकपोष्टमा दोब्बर दस्तुर तिर्नुपर्ने प्रावधान छ ।” नेपाली पर्यटकको हकमा भने प्रतिव्यक्ति रु एक सय प्रवेश शुल्क तोकिएको उनी बताउँछन् । यसअघि विदेशी पर्यटकको मात्र विवरण सङ्कलन गर्ने गरेको एमक्यापले सन् २०२५ बाट भने नेपाली पर्यटकहरूको विवरणसमेत राख्न सुरु गरेको उनले जानकारी दिए ।

मनास्लु क्षेत्रमा बर्सेनि पर्यटकको सङ्ख्या बढिरहेको छ । एमक्याप प्रमुख सन्तोष शेरचन भन्छन् । “स्रोतसाधनको प्रयोग गरेर पर्यटकको राम्रो व्यवस्थापन गर्ने होभने केही वर्षमा मनास्लु क्षेत्र नेपालकै चर्चित पर्यटकीय गन्तव्य बन्न सक्छ ।” मनासलुमा हरेक वर्ष उल्लेखनीय रूपमा पर्यटकको सङ्ख्या बढ्दै गएको उनको भनाइ छ ।

एमक्यापको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०–८१ मा नौ हजार ७८२ जना, आव २०७९–८० मा सात हजार ७०५ र आव २०७८–७९ मा दुई हजार २८४ जना पर्यटकले मात्र पर्यटकले मनासलु क्षेत्र भ्रमण गरेका थिए । बर्सेनि पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै जानु सुखद भएको एमक्याप प्रमुख शेरचनको भनाइ छ ।
सो क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ज्ञख्या २०७७–७८ मा सबैभन्दा कम अर्थात् जम्मा एक सय ९४ जना, आव २०७६–७७ मा पाँच हजार ३३८ र आव २०७५र७६ मा सात हजार ६५५ जना रहेको थियो ।