काठमाडौं । एसियाली विकास बैंकका असधकांश आयोजनामा समस्या रहेको देखिएको छ ।
एसियाली विकास बैंकले बिहीबार राजधानीमा आयोजना गरेको त्रिपक्षीय समिक्षामा प्रस्तुत प्रतिवेदन अनुसार धेरैजसो आयोजनाको कार्यान्वयन अवस्था कमजोर रहेको देखिएको छ ।
एडीबीले कार्यान्वयन कमजोर रहेका आधा दर्जन आयोजनको सम्झौता नविकरण नै गरेको छैन । नविकरण गरेका आयोजनाको पनि फाइनान्सियल क्लिोजर सम्झौता अवधिभन्दा निकै पछि मात्र भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार आयोजनाको सम्झौता नविकरण ३० डिसेम्बर २०१८ मा सकिएको थियो । त्यसपछि नविकरण गरिएको छैन ।
अन्य आयोजनाको हकमा पनि यही समस्या छ । हवाई तथा सडक, शहरी पूर्वाधार, शिक्षा, उर्जाजस्ता क्षेत्रमा एडीबीको लगानीका आयोजना अलपत्र अवस्थामा छन् ।
खासगरी हरेक पटकको समिक्षामा उस्तै समस्याका बारे चर्चा हुने तर सुधार नहुने प्रवृत्तिका विषयमा बिहीबार बहस भएको छ ।
खासगरी ठेकेदारको लापरवाही र त्यसमा नियामक निकायले आँखा चिम्लने प्रवृत्तिले आयोजना कार्यानवयनमा ढिलाई भइरहेको एडीबीको निष्कर्ष रहेको छ ।
एडीबीका पोर्टफोलियो म्यानेजमेन्ट युनिट प्रमुख रुदी भान डेलले धेरैजसो आयोजनाको काम समयमै सक्न नसकिएको तथ्यांक प्रस्तुत गरे ।
उनका अनुसार नेपालमा एडीबीले २ अर्ब ७० करोड अमेरिकी डलर बराबरको सहायता रकमका कार्यक्रम कार्यान्वयनमा ल्याएपनि रकम भुक्तानी भने आधा पनि छैन ।
एडीबीका कन्ट्री निर्देशक मुख्तोर आमुदखानोभले अब स्थानीय र प्रदेशलाई बलियो नबनाएसम्म आयोजनाले प्रगति गर्न नसक्ने उल्लेख गरे ।