सुपेन्द्र बस्नेत, बोस्टन
अमेरिकाको बोस्टन सहरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्, अमेरिकाले संस्थाको सदस्यता विस्तार अभियान कार्यक्रम गरेको छ। पुराना सदस्यहरुको सदस्यता नवीकरण गर्न र नयाँलाई सदस्य बन्न उत्प्रेरित गर्ने तथा संस्थाले यसवर्षदेखि प्रयोगमा ल्याएको स्मार्ट सदस्यताका बारेमा जानकारी दिने मुख्य उद्देश्यले एनआरएनए मासाच्युसेट्स च्याप्टरले आयोजना गरेको कार्यक्रम, गत अप्रिल २३ तारिख आइतवारका दिन गरिएको हो।

यतिबेला संस्थाको अधिवेशन नजिकिदै गरेकाले एनआरएनए राष्ट्रिय समन्वय परिषद्, अमेरिकाले उपाध्यक्ष दिलुराम पराजुलीको नेतृत्वमा अमेरिकाभर सदस्यता विस्तार गर्ने अभियानलाई तीव्रता दिइरहेको छ ।
मासाचुसेट्स च्याप्टरका अध्यक्ष प्रेम तामाङको अध्यक्षता तथा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्, अमेरिकाज क्षेत्रकी महिला संयोजक तृष्णा काफ्लेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

प्रमुख अतिथि काफ्लेले संस्थामा गुट–उपगुट भएका कारण संस्था गम्भीर समस्यामा परिरहेको बताउदै उक्त समस्याबाट संस्थालाई मुक्ति दिलाउन सबै एकजुट भएर गुट–उपगुटको अन्त्य गर्नुपर्ने बताइन्। संस्था भित्र हुने राजनितिक नै समस्याको मूल जड भएको उनको ठम्याइ थियो। ‘हामी मुखले संस्थाभित्र राजनीति गर्नु हुन्न भन्छौँ। तर, मनमा चाहिँ हुन्छ। मनबाट पनि राजनीतिलाई फाल्नु पर्दछ।’ भन्दै प्रमुख अतिथि काफ्लेले संस्थामा राजनितिलाई प्रशय दिन नहुनेमा जोड दिइन्।
कार्यक्रमका अतिथि तथा एनआरएनए राष्ट्रिय समन्वय परिषद्, अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्ण जिबी पन्थले संस्थाले सम्पन्न गरेका क्रियाकलापहरु र प्राप्त उपलब्धिहरुका बारेमा जानकारी गराएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी हुने महाधिवेशन एकताको महाधिवेशन हुने विश्वास व्यक्त गरे। उनले भने, ‘अब हुने महाधिवेशन एकताको महाधिवेशन हुनेछ। त्यसैले एकताको सन्देश दिन चाहन्छु। विभाजित नहौं। सबैले आ–आफ्नो कमिकमजोरीहरु सच्याएर एकताको महाधिवेशनमा जोडिन अनुरोध गर्दछु।’
कार्यक्रममा एनआरएनए(NRNA) राष्ट्रिय समन्वय परिषद, अमेरकाका उपाध्यक्ष तथा सदस्यता बिस्तार अभियानका प्रमुख दिलुराम पराजुलीले कार्यक्रमको औचित्य र सदस्यताको महत्वका बारेमा प्रकाश पारेका थिए। ढिलो नगरी संस्थाको स्मार्ट सदस्यता लिन सबैलाई अनुरोध गर्दै उनले भने, ‘ खुशीको कुरा स्मार्ट एनआरएनए(NRNA) बनाउने अभियानले सार्थकता पाएको छ। यो अत्यन्त सुरक्षित छ। विश्वस्त रहेर आफू सदस्य बनी आफ्नो परिवार, साथी भाइ, छरछिमेकीहरुलाई पनि सदस्य बनाउन अनुरोध गर्दछु।’
कार्यक्रममा एनआरएनए(NRNA) अन्तर्राष्ट्रिय समन्वय परिषद अन्तर्गत गठित नागरिकता समितिका सदस्य रुद्र अर्याल, एनआरएनए (NRNA)राष्ट्रिय समन्वय परिषद, अमेरिकाका उपाध्यक्ष गोपेन्द्र राज भट्टराई, संस्थाका पूर्व वरिष्ठ उपाध्यक्ष अर्जुन बन्जाडे, प्रवासी नेपाली मञ्च(प्रनेम), अमेरिकाका केन्द्रीय उपाध्यक्ष भिम प्रकाश ओली र एनआरएनए(NRNA)राष्ट्रिय समन्वय परिषद, अमेरिकाकी महिला संयोजक सुन्दरी गुरुङले कार्यक्रममा सम्बोधन गरेका थिए। वक्ताहरुले गैर आवासीय नेपालीहरुको सामूहिक मुद्दाहरुलाई संबोधन गराउन, संस्थामा देखा परेका समस्याहरु समाधान गर्न, सदस्यहरुको हित गर्न र संस्थाको गरिमा बढाउन सबै एकजुट भएर अघि बढ्नु परेमा जोड दिएका थिए।
मासाच्युसेट्स च्याप्टरका सचिव प्रचण्ड श्रेष्ठले सञ्चान गरेको कार्यक्रमा संस्थाका उपाध्यक्ष राजु(खुम)गुरङले स्वागत मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको अन्तमा, मासाच्युसेट्स च्याप्टरका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष प्रेम तामाङले कार्यक्रमका प्रमुख अतिथि, अतिथिहरु र सहभागीहरुलाई धन्यवाद दिदै आगामी दिनमा एकबद्ध भएर अघि बढ्न सबैलाई आग्रह गरेका थिए।
कार्यक्रममा नेपाली नयाँ वर्ष २०८० को शुभकामनासमेत आदानप्रदान गरिएको थियो।