न्यूयोर्क । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले १२औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका प्रकाशन गरेको छ । एनआरएनएले दुई वर्षे कार्यकालका लागि ७४ जना पदाधिकारी चयन गर्न निर्वाचन कार्यतालिका प्रकाशन गरेको हो । निर्वाचन यही फागुन ३० देखि चैत १ सम्ममा सम्पन्न गर्ने जनाएको छ । यसअघि निर्वाचन समितिको माघ २९ को निर्णयअनुसार कार्यतालिका तोकिएको हो ।
निर्वाचन समितिको कार्यालयका अनुसार २० पदका लागि ७४ जना पदाधिकारीहरु निर्वाचित हुनेछन् । जसअन्तर्गत अध्यक्ष १, उपाध्यक्ष ६, महिला उपाध्यक्ष १, युवा उपाध्यक्ष १, महासचिव १, उपमहासचिव २, सचिव ६, महिला सचिव १, कोषाध्यक्ष १, सहकोषाध्यक्ष ३ र महिला सहकोषाध्यक्ष १ पद रहेका छन् ।
त्यसैगरी महिला संयोजक १, युवा संयोजक १, क्षेत्रीय संयोजक ६ (प्रत्येक क्षेत्रमा १ जना, क्षेत्रीय उपसंयोजक १७ (अफ्रिका क्षेत्र २ र अन्य क्षेत्र ३ का दरले), क्षेत्रीय महिला संयोजक ६ (प्रत्येक क्षेत्रमा १ जना), क्षेत्रीय महिला उपसंयोजक ६ (प्रत्येक क्षेत्रमा १ जना), क्षेत्रीय युवा संयोजक ६ (प्रत्येक क्षेत्रमा १ जना), क्षेत्रीय युवा उपसंयोजक ६ (प्रत्येक क्षेत्रमा १ जना) र दोस्रो पुस्ताका गैरआवासीय नेपाली संयोजक १ रहने निर्वाचन समितिको कार्यालयले जनाएको छ ।
एनआरएनएको १२औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन १४–१६ मार्च, २०२६ मा काठमाडौंमा आयोजना हुनेछ। यस निर्वाचनले संघको आगामी दुई वर्षे कार्यकालका लागि नेतृत्व चयन गर्नेछ ।