सुपेन्द्र बस्नेत, बोष्टन
अमेरिकास्थित गैर आवासीय नेपाली संघ (NRNA), मास्याच्युसेट्स राज्य समितिले
११२ औं अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर महिलाहरुलाई आर्थिक सहयोगसहित सम्मान गरेको छ। संस्थाले काठमाडौंको बनस्थली वरपर रहेका महिला श्रमिकहरुलाई आर्थिक सहयोग सहित सम्मान गरेको हो।
आर्थिक अवस्था कम्जोर भएका तर निकै परिश्रमी दश जना श्रमिक महिलाहरुलाई उनीहरुले गर्ने श्रमको उच्च कदर सहित सम्मान गर्दै जनही पाँच हजारका दरले नगद रकम प्रदान गरिएको एनआरएनए अमेरिकाको मास्याच्युसेट्स राज्य समितिका उपाध्यक्ष राजु गुरुङले जानकारी दिनु भयो। उक्त कार्यक्रम काठमाडौं बनस्थलीस्थित मेची महाकाली महिला समूहको सक्रिय सहयोगमा सम्पन्न भएको थियो। हाल नेपालमा रहनु भएका संस्थाका सचिव प्रचण्ड श्रेष्ठले एक कार्यक्रमकाबीच श्रमिक महिलाहरुलाई संस्थाको तर्फबाट खादा लगाइदिएर सम्मान गर्दै उक्त सहयोग रकम हस्तान्तरण गर्नु भएको थियो।
कार्यक्रममा सम्मानित महिलाहरुले सम्मानसहित सहयोग रकम उपलब्ध गराएकोमा खुसी व्यक्त गर्दै धन्यवाद प्रकट गरेका थिए। ११२ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा मास्याच्युसेट्स, बोष्टनमा विशेष कार्यक्रम गर्ने सोच रहेको भएतापनि कोरोना कहरका कारण आयोजना गर्न नसकिएको र सानै भएपनि नेपालमा श्रमिक महिलाहरुलाई आर्थिक सहयोग गरिएको उपाध्यक्ष गुरुङले बताउनु भयो। उहाँले भन्नु भयो, ‘विशेष कार्यक्रम गर्ने सोच त थियो।तर, कोरोनाका कहरका कारण सम्भव भएन। त्यसैले सानै भएपनि श्रमिक महिलाहरुलाई सम्मानसहित आर्थिक सहयोग गरेका हौं ।’ उक्त रहयोग रकम संस्थाकी महिला संयोजक अन्जु भट्टराई थापाको पहल कदमीमा भएको उपाध्यक्ष गुरुङले जानकारी दिनु भयो।

संस्थाले बेलाबखत आफ्नो उद्देश्य अनुसार महिला सशक्त्तिकरण र विकासका लागि सक्दो महिला केन्द्रित कार्यक्रमहरु गर्दै आएको र आगामी दिनमा पनि गर्दै जाने योजना रहेको उपाध्यक्ष गुरुङको भनाइ छ। ‘संस्थाले महिला सशक्तिकरण र महिला विकासका लागि सक्दो कार्यक्रमहरु गर्दै आइरहेको छ। र, भावि दिनहरुमा पनि गर्दै जाने छौं।’ उहाँले भन्नु भयो। संस्थाको विधान अनुसार दुइ वर्षीय कार्यकाल(सन् २०२१-२०२३)का लागि गत वर्ष, मे महिनाको २९-३० मा भएको अधिवेशनबाट निर्वाचन नयाँ कार्यसमितिले नेपाली समुदायलाई लक्षित गरी विविध कार्यक्रहरु गर्दै आइरहेको छ। कोरोनाको कहरका कारण केही समय यता सुस्ताएको कार्यसमिति, कोरोनाको कहरको अवस्था सुध्रिदै गएसंगै अन्तराष्ट्रिय नारी दिवसबाट पुन: सक्रियता देखाउन थालेको छ।
विगतमा झैं यस वर्ष पनि ‘सामाजिक न्याय र लैङ्गिक समानता, दिगो विकासको सुनिश्चितता’ भन्ने मुल नाराका साथ विविध कार्यक्रमहरु गरेर ११२ औँ अन्तराष्ट्रिय नारी दिवस संसार भर मनाइयो। हरेक वर्ष मार्च ८ तारिखमा अन्तर्राष्ट्रिय नारी दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर नारी दिवस मनाउन थालिएको हो । सन् १९७५ मा संयुक्त राष्ट्रसङ्घले मार्च ८ लाई अन्तर्राष्ट्रिय नारी दिवसका रुपमा घोषणा गरेसंगै यसको महत्व र क्षेत्र बृहत बनेको छ। ११२ औं अन्तराष्ट्रिय नारी दिवससम्म आइपुग्दा लगानीका हिसावले परिणामको मुल्याङ्कन गर्दा महिलाहरुको सशक्तिकरण र विकासमा सन्तोष गर्ने अवस्था भने छैन। कनिका छराइ लगानी र औपचारिकतामा सिमित हुदै गएको महिला केन्द्रिकृत कार्यक्रमहरुले, सोचे जस्तो लक्ष्य भेटाउन सम्भव छैन।
नारीलाई दयाको पात्र ठानी माछा मारेर खटाइ खटाइ खान दिने हैन कि, सक्षम ठानी आफै माछा मारेर खान र खुवाउन सक्ने गरी पर्याप्त अवसरसहित सीप सिकाउन जरुरी छ। र, नारीले पनि तदारुपताका साथ त्यसको अगुवाइका लागि सक्रियता देखाउनु अपरिहार्य छ।