एनआरएनए अमेरिकाको आसन्न निर्वाचनको उम्मेदवार भानु खरेलले न्युयोर्कमा एजेण्डा प्रस्तुत गरे

न्युयोर्क

गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको आसन्न निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार खरेलले न्युयोर्क सहरको ज्याक्सन हाइट्समा भेटघाट तथा आगामी एजेण्डा सुनाएका छन् । आसन्न निर्वाचनलाई लक्षित गरी शुभचिन्तकलाई सम्बोधन गर्दै टुटफुट र विभाजनको मार खेपिरहेको एनआरएनएलाई बलियो बनाउनु आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन्।

आइतबार न्यूयोर्कमा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा चुनावी एजेन्डाबारे जानकारी दिँदै खरेलले भने, “एउटा समय यस्तो थियो, जब एनआरएनएको कार्यक्रममा सयौंको सहभागिता हुन्थ्यो। तर व्यक्तिगत स्वार्थ हावी भएपछि हामी कमजोर भयौं, र हाम्रो मुद्दा पनि कमजोर बन्यो। विभाजित भएर हामी लक्ष्यमा पुग्न सक्दैनौं, त्यसैले सबै एकजुट हुनुको विकल्प छैन।”

उनले अतीतमा एनआरएनए एकताबद्ध हुँदा संविधानमा गैर आवासीय नेपालीका हकहित र अधिकारका विषयलाई समेट्न सफल भएको स्मरण गर्दै भने, “एनआरएनएको विकल्प खोज्न सकिँदैन। यसको विकल्प सुधारिएको र सबल एनआरएनए मात्र हो, अन्य संस्था होइन।”

खरेलका अनुसार व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संगठनलाई सबल बनाउनु अहिलेको आवश्यकता हो। उनले भने, “एनआरएनए बलियो हुँदा गैर आवासीय नेपालीका पक्षमा भएका राम्रा कामहरूको चर्चा हुनुपर्छ। नकारात्मक प्रचार मात्रै गर्ने प्रवृत्ति त्याग्न आवश्यक छ।”

उनको दोस्रो प्राथमिकता भनेको वंशजको नागरिकताको निरन्तरताका लागि नेपाल सरकारलाई दबाव दिने हो। उनले “एक पटकको नेपाली, सधैंको नेपाली” भन्ने नारालाई व्यवहारमा कार्यान्वयन गर्न कठिनाइ भइरहेको उल्लेख गर्दै गैर आवासीय नागरिकता कार्यान्वयनका अवरोध—जस्तै घरजग्गा पास गर्ने झन्झट र सम्पत्तिमाथिको अधिकार सुनिश्चित हुन नसकेको—बारे प्रष्ट पारे।

खरेलले विदेशी भूमिमा नेपाली भाषा, धर्म, संस्कृति संरक्षण तथा संवर्द्धनका लागि पनि आफ्नो योगदान रहने प्रतिबद्धता जनाए। साथै, उद्यमशीलताको विकास र व्यवसाय प्रवर्द्धनमार्फत गैर आवासीय नेपालीको आर्थिक स्तर उकास्ने योजना सुनाए।

सूचना प्रविधिका क्षेत्रमा ख्यातिप्राप्त अन्तर्राष्ट्रिय संस्थानहरूमा उच्च पदमा रहेका नेपालीहरूको ज्ञान, अनुभव, पूँजी र सम्बन्धलाई नेपालको विकास र समृद्धिका लागि सदुपयोग गर्ने सोच पनि उनले व्यक्त गरे।

युवा, महिला र सीमान्तकृत समुदायको सक्रिय सहभागिताबाट एनआरएनएलाई अझ समावेशी बनाउने खरेलको अठोट छ। उनले भने, “हामी अलमलमा रहँदा गन्तव्यमा पुग्न सक्दैनौं। त्यसैले पारदर्शिता र जवाफदेहिता अपरिहार्य छ, र हाम्रो ध्यान समुदायको चाहनामा केन्द्रित हुनुपर्छ।”

कार्यक्रममा उपस्थित वक्ताहरूले ‘टिम भानु’को एजेन्डाप्रति समर्थन जनाउँदै सबैलाई एनआरएनएलाई सबल बनाउनका लागि भानु खरेललाई भोट दिन आह्वान गरे। कार्यक्रममा एनआरएनए आईसीसीका सहकोषाध्यक्ष कृष्ण पोखरेल, भिजन क्लबका अध्यक्ष मोहन श्रेष्ठ, हामी ग्लोबल नेपालीका अध्यक्ष शोभाकान्त पाण्डे, रिजनल को–अर्डिनेटर आङ छिरिङ शेर्पा, नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्वाङ, राप्ती समाजका सचिव तुलसीराम ओली, जनसम्पर्क समिति मकाउका संस्थापक अध्यक्ष अम्बिर जोशी, गिरिजाप्रसाद कोइराला फाउण्डेशनका प्रवक्ता रामचन्द्र अधिकारी, एनआरएनए न्यूयोर्क च्याप्टरका निर्विरोध अध्यक्ष डण्डपाणी लामिछाने ‘बासु’ लगायतले शुभकामना मन्तव्य दिएका थिए।

कार्यक्रममा सुदूरपश्चिम समाज न्यूयोर्कका अध्यक्ष दानसिंह बिष्ट, हामी ग्लोबल नेपालीका पूर्व अध्यक्ष ध्रुव कुँवर, सामाजिक अभियन्ता श्याम कार्की लगायत विभिन्न संघसंस्थाका अगुवाहरूको उपस्थिति थियो।
अन्तरक्रिया कार्यक्रमा बरिष्ट उपाध्यक्ष सरेाज सिग्देल, उपाध्यक्षका उमेद्वार बिष्णु बराल र सि के पराजुली , सर्वसम्मत महिला सचिव लक्ष्मी थापा लगायत उम्मेदवारहरुले आफ्नो परिचय दिनुभएको थियो भने संयोजन खरेलको प्यानलबाट बोर्ड अफ डाइरेक्टर पदका उम्मेदवार रामबहादुर देउवाले गरेका थिए भने सञ्चालन सचिव पदका उम्मेदवार वासुदेव भट्टले गरेका थिए।