एनआरएनए अमेरिकाले आगामी कार्यकालका लागि नेतृत्वको बागडोर सुवेदीलाई सुम्पियो

सुपेन्द्र बस्नेत, बोष्टन

गैर आवसीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाको हालै सम्पन्न निर्वाचनले आगामी कार्यकालका लागि नेतृत्वको बागडोर बुद्धि सागर सुवेदीलाई सुम्पेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाम अनुसार आगामी दुई वर्षे कार्यकाल (२०२१-२०२३) का लागि सुवेदी अध्यक्ष पदमा चयन हुनु भएको हो। सुवेदीले आफ्ना तीन प्रतिद्वन्द्वीहरु कृष्ण लामिछाने , डा.अर्जुन बन्जाडे र तिकल केसीलाई पछि पार्दै नेतृत्वको बागडोर सम्हाल्न सफल हुनु भएको हो । निर्वाचन समितिले सार्वजनिक गरेको मत परिणाम अनुसार सुवेदीले -५,६ १८ , कृष्ण लामिछानेले -५,२००, अर्जुन बन्जाडेले – ४,१४८ र तिलक केसीले -५६७ मत प्राप्त गर्नु भएको छ ।अमेरिका भरी कुल २०,१३८ मतदाताहरु रहेको संघको मे २९ (शनिबार) र मे ३० आइतबार भएको निर्वाचनमा १५,७६८ मत खसेको थियो ।
यसैगरी बरिष्ठ उपाध्यक्षमा कृष्ण जिबि पन्थ बिजयी हुनु भएको छ । ६,८५० मत सहित आफ्ना दुई प्रतिद्वन्द्वी बाबुराम लामा र चित्र कार्कीलाई पराजित गर्दै पन्थ बिजयी हुनु भएको हो । राष्ट्रिय उपाध्यक्ष पदका लागि १४ जना चुनावी मैदानमा उत्रिएकोमा , सुमन थापा (५,९७५), गोपेन्द्र राज भट्टराई (५,४९६) , दिलुराम पराजुली(५,०९७) र बिकास उप्रेति (४,४३३)विजयी हुनु भएको छ । राष्ट्रिय महिला उपाध्यक्षमा भने दिक्षा बस्नेतले बाजी मार्नु भएको छ । ८,२४५ मतले अग्रता लिदै बस्नेतले ६,४६६ मत प्राप्त गर्ने क्रान्ति अर्याल भण्डारीलाई पछि पार्न सफल हुनु भएको हो । निर्वाचनले राष्ट्रिय महासचिवमा अन्जन कुमार चौलागाई र खुल्ला राष्ट्रिय सचिवमा अनुप खनाललाई चयन गरेको छ । राष्ट्रिय महिला सचिवमा भने सुनिता सापकोटा कंडेल , राष्ट्रिय कोषाध्यक्षमा राजीव प्रसाद श्रेष्ठ र सह कोषाध्यक्षमा अग्नि प्रसाद ढकाल चयन हुनु भएको छ । राष्ट्रिय युवा संयोजकमा त्रिभुवन पाण्डे र राष्ट्रिय महिला संयोजकमा सुन्दरी गुरुङ चयन हुनु भएको छ । त्यसैगरी , १२ राष्ट्रिय बोर्ड सदस्य (बोर्ड अफ डाइरेक्टर) चयनका लागि भएको प्रतिस्पर्धामा ५४ जना उमेदवारहरु चुनावी मैदानमा आमनेसामने भएका थिए । जसमध्य , आशिश संग्रौला, बाला घिमिरे ,बिसाल राना , बिश्वराज बास्तोला , डोलनाथ घिमिरे , दुर्गेश जंग कार्की , ज्ञानेन्द्र गुरुङ , प्रभात राज सापकोटा ,
प्रकाश श्रेष्ठ , राज ढुंगाना , सन्तोष पहरी र शान्ति पौड्याल बिजयी हुनु भएको छ। क्षेत्रीय समितिको अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा , किरण बहादुर बस्नेत ( मध्य पश्चिम), सम्मर बहादुर बुढाथोकी( उत्तर-पूर्व) , बादल कुमार भुजेल (दक्षिण) र श्रिराम थापा (पश्चिम) चयन हुनु भएको छ । आइसिसि सदस्य पदमा भने अमृतनाथ सापकोटा , बिन्दु निरौला , बिनोद कुमार तिवारी , गोविन्द सुबेदी , नाराणप्रसाद कंडेल , संजय थापा , संजिव कुमार श्रेष्ठ , सुरेन्द्र प्रकाश मल्ल र विष्णु बहादुर शाह बिजयी हुनु भएको छ । निर्वाचनको परिणाम सार्वजनिक भए लगतै निरन्तर न्यूजको प्रतिनिधिसंग कुराकानी गर्दै सुवेदीले आफ्नो अमुल्य मतदान गर्नु हुने मतदाताहरुलाई बिशेष धन्यवाद दिनु भएको छ । धन्यवाद दिने क्रममा खुशी ब्यक्त गर्दै उहाँले निर्वाचन सफलताका साथ सम्पन्न अहम भूमिका खेल्ने निर्वाचन आयोग, च्याप्टरदेखि केन्द्रसम्का पूर्व कार्य समितिहरु, सरोकारवालाहरु , सहयोगीहरु र पत्रकारहरुप्रति पनि आभार प्रकट गर्नु भएको छ । आफुसंगै सम्पन्न निर्वाचनबाट निर्वाचित हुनु हुने सबैलाई बधाई दिदै चयन हुन असमर्थ हुनु भएका उमेदवारहरुलाई पनि बिजयी भएको अनुभूति गराउने गरी आफुले भुमिका निर्वाह गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले भन्नु भयो ,’ यो संस्थालाई सबैले अपनत्व ग्रहण गर्न सक्ने गरी , सबैको साँझा बनाउन म हरसम्भव प्रयास गर्ने प्रतिबद्धता जनाउदछु । संस्थाको गरीमा बढाउन धेरै महत्वपूर्ण कामहरु गर्नु पर्ने देखिएको भन्दै सुवेदीले चुनावी दौरानमा आफुले देखेको तथा महसुस गरेको र मतदाताहरुबाट प्राप्त गरेको सुझावहरुलाई ब्यवहारमा उतार्न आफु सक्रिय रहने बताउनु भयो । उहाँले भन्नु भयो, ‘ च्याप्टर र केन्द्रका बिच , च्याप्टर-च्याप्टरका बिच र च्याप्टर भित्रै पनि समन्वयको निकै कमी रहेको महसुस गरेको छु । एक आपसमा समन्वय सुमधुर र बलियो बनाउन प्राथमिकताका साथ सबैसंग मिलेर काम गर्नेछु ।’
आफ्नो चयनलाई पदग्रहणको अवसर भन्दा पनि जिम्मेवारी बहनको रुपमा लिएकोले आफ्नो दुई बर्षे कार्यकाल संस्था र संस्थामा आवद्धहरुको भलोका लागि सक्दो फलदायी बताउन प्रयास गर्ने भयो ।

यसै क्रममा , यस निर्वाचनले आगामी कार्यकालका लागि अमेरिकाको विभिन्न राज्यहरुको कार्यसमितिको पनि चयन गरेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाम अनुसार , मासाचुसेट्स राज्यको नेतृत्वको जिम्मेवारी भने अध्यक्ष पदका प्रत्यासी हुनु भएका प्रेम तामाङले ग्रहण गर्नु भएको छ ।गत कार्यकाल (२०१९-२०२१)को अध्यक्ष समेत रहनु भएका तामाङले आफ्ना प्रतिद्वन्द्वी अध्यक्ष पदमा प्रत्यासी हरिप्रसाद काफ्लेलाई पराजित गर्दै च्याप्टरको दोश्रो कार्यकालका लागि पुनः निर्वाचित हुन सफल हुनु भएको हो । च्याप्टरको उपाध्यमा खुम (राजु) गुरुङ , सचिवमा प्रचण्ड श्रेष्ठ , सहसचिवमा सलोनी भण्डारी (निर्बिरोध), कोषाध्यक्षमा अजय कुश्वाह र महिला संयोजकमा अन्जु भट्टराई थापा चयन हुनु भएको छ । त्यसैगरी, सदस्यहरुमा अन्जना घले, कृष्ण बहादुर महत , प्रमिला बन्जरा , रुपक अधिकारी , समुन्द्र कुमार श्रेष्ठ र शिवराज मिश्र निर्वाचित हुनु भएको कुरा निर्वाचन आयोगले जनाएको छ ।