एनआरएनए युसको महिला संयोजक उम्मेद्वार गुरुङलाई न्यू ह्यामसायरका सबै नेपाली संस्थाको साथ

न्यू ह्यामसारयका सबै नेपाली संस्थाले सुन्दरी गुरुङलाई गैर आवासीय नेपाली संघ (एनआरएनए एनसिसी) अमेरिकाको आसन्न निर्वाचनमा महिला संयोजक पदकाका लागि ‘इन्डोर्स’ गरेका छन् । 

राज्यमा १३ वर्षदेखि बसोबास गर्दै आएकी गुरुङ एनआरएनए अमेरिका न्यूह्यामसर च्याप्टरकी वर्तमान उपाध्यक्ष हुन्।

राज्यमा सकृय न्यू ह्यामसायर नेपाली समाज (एनएचएनसी), गुरुङ तमु समाज न्यूह्यामसायर, एभरेष्ट लाइन्स क्लव न्यू ह्यामसारयका, फेडरेसन अफ इन्डिजिनियस पिपुल्स अफ नेपाल अमेरिका (फिप्ना) न्यू ह्यामसारयका च्याप्टर, राई किराँत समाज न्यू इंग्ल्यान्ड लगायत संस्थाका पदाधिकारी एवं अन्य विभिन्न सामाजीक अगुवाको उपस्थितीमा सम्पन्न बैठकबाट गुरुङलाई सर्वसम्मत समर्थन गरिएको हो । 

एनआरएनए अमेरिकाको आसन्न निर्वाचनमा राज्यबाट गुरुङको मात्र उम्मेद्वारी परेको र सबैको साथले उनलाई विजयी गराउनु पर्ने एनएचएनसीका अध्यक्ष सोम गुरुङले बताए । गुरुङ तमु समाज न्यू ह्यामसायरकी अध्यक्ष एवं एनआरएनए एनसीसीका बोर्ड अफ डाइरेक्टर छत्रकुमारी गुरुङले सुन्दरी गुरुङको उम्मेद्वारी राज्यमा बसोबास गर्ने सबै नेपालीका लागि गौरवको विषय रहेको बताइन् । 

एनआरएनए न्यू ह्याससायर च्याप्टर अध्यक्ष डम्बर कडरियाले गुरुङले एनसिसीमा सिंगो राज्यको प्रतिनिधित्व गर्ने बताए । च्याप्टरबाट एनसिसीमा गुरुङको मात्र उम्मेद्वारी परेको कारण उनी अब सबैको साझा उम्मेद्वार भएको उनको भनाइ थियो । एभरेष्ट लाइन्स क्लव अध्यक्ष उमेश कोइरालाले गुरुङलाई खुला हृदयले मतदान गर्न राज्यका सबै मतदातालाई आह्वान गरेका थिए । राई किराँत समाजका न्यू इंग्लान्ड च्याप्टर अध्यक्ष मुक्ती राईले गुरुङलाई विजयको अग्रिम शुभकामना दिँदै समर्थन गरेका थिए । 

कार्यक्रममा सामाजीक अगुवाहरु एनएचएनसीका पूर्व अध्यक्ष रोविन थापा, एनआरएनए आइसिसी भाषा तथा साहित्य कमिटी सदस्य इश्वरी भट्ट, एनसिसी पूर्व अध्यक्ष शिवकुमार राई, समाजसेवी लोक लामा लगायतले गुरुङलाई विजयको शुभकामना दिएका थिए । राज्यमा २७५ जनाले एनआरएनको सदस्यता लिइ सकेका छन् ।  

फिप्ना न्यूह्यामसरको अध्यक्ष रहेकी गुरुङ राज्यको सामाजीक गतिविधीमा निरन्तर सकृय रहँदै आएका छन् । त्यही सकृयता एनसिसीमा देखाउने आफ्नो अभियान रहेको र निर्वाचित भएमा युवा एवं महिला सशक्तीकरणलाई थप प्रभावकारी बनाउने उनले बताएकी छिन् ।

‘एनआरएनए अमेरिकालाई समावेशी बनाउँदै युवा र महिलालाई सबै तहमा सहभागी गराइयो भने संस्था थप प्रभावकारी हुन्छ भन्ने मेरो विश्वास हो’ उनको भनाइ छ- ‘म निर्वाचित भएँ भने युवा र महिलाको सहभागिता बृद्धिमा जोड दिनेछु ।’

गुरुङले अमेरिकी जनगणना २०२० को क्रममा न्यूह्यामसर राज्यमा ‘टोटलकाउण्ट कोअर्डिनेटर’ को रुपमा काम गरेकी थिइन्। एनआरएन एन्यूह्यामसर च्याप्टरको अगुवाईमा ‘न्यू अमेरिकन’ नेपालीहरुलाई अमेरिकी आमचुनावमा सहभागी गराउन ‘नन पार्टिजन भोटिङ्ग अवारर्नेश’ परियोजना समेत उनको अगुवाइमा सम्पन्न भएको थियो।

‘युवा र महिला सशक्तीकरणका लागि अमेरिकामा के–कस्ता कार्यक्रम र परियोजना सञ्चालन गरिनुपर्छ भन्नेमा मलाई अनुभव छ’ उनले भनिन् ‘महिला संयोजकको रुपमा यिनै ज्ञान, सीप र अनुभवलाई सदुपयोग गर्नेछु।’

गुरुङले कोरोना महामारीका बेला न्यूह्यामसर नेपाली समाजले स्थापना गरेको कोभिड–१९ टास्कफोर्समा बसेर समाजका सदस्यहरुलाई सहयोग गरेकी थिइन्। त्रिचन्द्र क्याम्पस काठमाडौंबाट स्नातकोत्तर गुरुङले नेपालमा रहँदा महिला विकास अधिकृतका रुपमा विभिन्न जिल्लामा महिला सशक्तीकरणका परियोजनामा सहभागी भएकी थिइन्।