एनआरएन अमेरिका नेतृत्वको प्रतिस्पर्धामा पराजुली-अधिकारी समुह

बिष्णु सिंह (बैजु)
एनआरएन आजीवन सदस्य

आगामी जुलाई २२ तारिख २०२३-२५ अवधिका लागि एन आर एन अमेरिकाको पदाधिकारीहरुको चुनाव हुदैछ। सोका लागि बिगतमा एनआरएनको तल्लो तहमा कार्य गरिसकेका दिलु पराजुली अध्यक्ष र रामहरी अधिकारी महाससचिव पदका प्रत्याशी हुन् र उनीहरुको बिगतको कार्य उपलब्धि चर्चामा छन। त्यस्तै अन्य प्रत्यासीहरुमा अन्जन कुमार चौलागाई बरिष्ठ उपाध्यक्ष; चार उपाध्यक्ष पदमा क्रमश राजीव श्रेष्ठ, सन्तोष पहारी, राज ढुंगाना र भानु खरेल रहेका छन। त्यस्तै महिला उपाध्यक्षमा सुन्दरी गुरुङ, युवा उपाध्यक्ष अनुप खनाल, एकदेव शर्मा सचिव, महिला सचिव उर्मिला श्रेष्ठ, कोषाध्यक्ष सरोज सिन्ग्देल, सह-कोषाध्यक्ष रवि सिंह बस्नेत, महिला संयोजक मुवा तिवारी, युवा संयोजक बिकी थापा प्रत्यासी छन।
बोर्ड सदस्यहरुमा क्रमश: इन्द्रराज पाण्डे, बिष्णु बराल, लक्ष्मण दर्लामी मगर, डा गंगाधर आचार्य, नवराज नेउपाने, मोहन कुसारी, बलराइ, बासुदेव भट्ट, र दिवाकर भट्ट रहेका छन। अनि महिला बोर्ड सदस्यहरुमा क्रमश: दुर्गा तिवारी, सरस्वती शर्मा, रितादेवी प्रधान र सारिका थापा प्रत्यासी रहेका छन।

ज्याक्सन हाईट्स न्युयोर्कस्थित सत्यनारायण मन्दिर हलमा गत जुलाई १५ मा २१ बुंदे घोषणा पत्र सहित डिलु-रामहरी प्रत्यासी समुहले आफ्नो परिचय कार्यक्रम आयोजना गरिएको थियो। बेद खरेलको प्रमुख अतिथ्यमा कार्यक्रम संचालन गरिएको थियो। साथै डेढ दर्जन बिभिन्न क्षेत्रका काग्रेसी व्यक्तित्वहरु ड्यासमा विराजमान गराईएको थियो।

शुरुमा अध्यक्ष पदका प्रत्यासी डिलु पराजुलीले आफ्नो भनाइहरु प्रस्तुत गरे। तत्पश्चात महासचिवका प्रत्यासी रामहरी अधिकारीले आफ्नो भनाई राखे। साथै उनले सबै पदका प्रत्यासीहरुको परिचय गराउन सबैलाई ड्यास पछाडि उभ्याएर आफ्नो परिचय दिन लगाए। तर दुई मिनेटमा आफ्नो छोटो परिचय दिन भनिएकोमा छेउ न टुप्पोको लामो भाषण गरे। केहीले भने छोटो परिचय दिदै आफ्नो समुहलाई अत्याधिक मत दिएर जिताउन अपिल गरे। एकातर्फ दुई बजे शुरु गर्ने भनिएको कार्यक्रम ४ बजे शुरु गरिएको थियो। अर्को तर्फ अनावश्यक भाषण गराएर समय बर्बाद गरियो।

त्यसपछि ड्यासमा बसेकाहरुलाई बोल्न लगाइयो। तिनलाई बोल्न समयको पावन्दी थिएन। तिनले जे मन लाग्यो, जति मनलाग्यो बोले। कसैले जोडदार रुपमा भनि दिए “नेपालको समानुपातिक प्रतिनिधि छनौट गर्ने व्यवस्था ठिक नभएकोले तिनीहरु प्रभावकारी नभएको” भनि ठम्माई दिए। तर ती नेताले योग्य, बिज्ञहरुलाई नछानि सिर्फ आफ्ना आसेपासे, स्वास्नी, नातेदार नियुक्त गरेकोले प्रभावकारी नभएको भन्न सकेनन। उदाहरणको लागि राष्ट्रिय स्वतन्त्र पार्टीले राजनीतिक बिज्ञ सन्तोष परियार समानुपातिकबाट ल्याएर कति प्रशंसा पाएको बारे बताउन सकेनन। कांग्रेसी धर्मको पालना गरेको बुझिन्थ्यो।

त्यस्तै अर्का बक्ता, जो पुर्व नेपाल बारका सभापति हुन्, ले संविधानको भाग २, धारा १४ मा सामाजिक, आर्थिक र सांस्कृतिक अधिकार सहितको गैर आवासीय नेपाली नागरिकता दिन सकिने बारे पढेर सुनाए। अनि उनले अब गैर आवासीय च्याप्टरले सिफारिस गरि नागरिकता दिनुपर्ने बारे सुझाए। अहिले नेपालमा अदालतबाट नागरिकता दिन निर्णय भैसकेको छ। “एक महिना भित्र नियमावली बनाएर एनआरएनए नागरिकता वितरण सुरु गरिसक्छौँ” भन्ने प्रतिबद्दता उपप्रधानमन्त्री एवम रक्षामन्त्री पूर्णबहादुर खड्काले जाहेर गरिसकेका छन। त्यसैले यी पुर्व बारका सभापतिका भाषण पनि कुनै तुकको देखिएन।

त्यसपछि पूर्व प्रधानमन्त्री शुसिल कोइरालाकी सल्लाहकार मृदुला कोइरालालाई बोल्न निम्त्याईयो। उनले एनआरएनको यथार्थता प्रकाश प़ार्दै निम्नस्तरको क्रियाकलापले गैर-आवासीयहरुमा निराशा छाएको स्पष्ट प़ारिदिइन। त्यसैले अब पदमा जाने चाहने प्रत्याीहरुले गैर-आवासीयहरुको मन जित्न निकै मिहेनत गर्नु पर्ने कुरामा जोड दिदै सफलताको शुभकामना दिईन।

त्यसपछि जातजातिका संस्थाका प्रतिनिधिलाई बोल्न दिने क्रममा दर्शनधारी ठकुरी समाजका मिलन शाहीलाई बोल्न दिईयो। उनले नेपालले अब बशंजको आधारमा नेपाली नागरिकता दिनु पर्ने जोडदार माग राखे। नागरिकता नभएको कारण नेपालमा भएको घरबार बेची अमेरिकामा रकम ल्याउन नसकिएकोले अनेक मुश्किलका बावजुद बल्ल ल्याएको कुरो पनि सुनियो। एकातिर नेपाललाई बिदेशी मुद्रा अभाव भएर बेहाल छ। त्यसैलाई मध्यनजर गरेर गैर-आवासीय नागरिकता दिन तत्परता देखाएको छ। अर्को तर्फ नागरिकताको अभावले बिदेशमा रकम लैजान नसकिएको कुरा सुन्दा कस्तो लाग्छ होला (?) यस्तै कुरो भारत, बर्मा, बंगलादेश र अन्य देशमा रहेका दुई करोड भन्दा बढी नेपाली छन। तिनले यस्तै सोचे वा गरे भने नेपालको अवस्था के होला ? के नेपालको नागरिक बन्न चाहनेले यस्तै सोच्न सुहाउला ? किनकि घरबार बेचेको नेपाली रुपिया त तीनले लैजाने होइनन ? अनेक तिक्डम गरेर बिदेशी मुद्रा नै लानु पर्ने हुन्छ। अनि नेपालको हालत के होला ?

अनि एनआरएनका पुर्व पदाधिकारी बन्दना कोइरालालाई बोल्न दिईयो। उनले एनआरएनको पदाधिकारी भएर आफुलाई आर्थिक घाटा भएको प्रकाश पारिन। अनि सिता खरेलले आफ्नो भनाइ राख्दै समुहलाई जितको शुभकामना दिइन। त्यस्तै अन्य महिलाहरुले पनि मौकामा चौका हान्दै निकै लामालामा जोडदार भाषण गरे। महिलाहरु निकै कुशल र दमदार भएको जोडदाररुपमा प्रस्तुत गरे। कतिले बुझे, कतिले बुझेनन् थाहा भएन।

कसैले हर्क साम्पंगसंग तुलना गरेको पनि सुनियो। कसैले बालेन शाहसंग तुलना गरे। अनि आफुलाई तिनैको समकक्षमा राखि बढी से बढी मतदान गर्न माग गरे।

एकाजना कांग्रेसी बक्ताले सक्षम बिज्ञहरु बिदेशमा रहेकाले नेपालमा फर्की बिकास गर्न आवश्यक भएको बताए। तर तीनले नेपाल भ्रष्टका नेताहरुले गर्दा नै बिज्ञहरु नेपालबाट पलायन भएको नबुझेका रहेनछन्।

समग्रमा कार्यक्रमलाइ नियाल्दा यो एनआरएनको कार्यक्रम भन्दा पनि काग्रेस कार्यक्रम जस्तो देखिन्थ्यो। यसअघि जितेका पूर्व अध्यक्षत्रय पनि कांग्रेसी नै थिए। अनि तिनले पनि चुनाव पुर्व त्यही सत्यनारायण मन्दिरमा परिचय कार्यक्रम गरेका थिए। त्यहाँ भाषण भट्याउने र सुन्ने नेता नै थिए। अनि चुनावमा उठ्ने र शुभकामना दिने पनि नेता नै थिए। त्यहाँ एनआरएनका आजीवन सदस्यको कुनै मर्यादी थिएन। तिनले एनआरएन सदस्यहरुको मर्का बारे केही कुरा राख्ने समय माग गर्दा पनि बेवास्ता गरिएको थियो।

स्पष्ट रुपमा कार्यक्रम आयोजक वा संचालक असक्षम र एनआरएन नबुझेका नै देखियो। बाढ्न ल्याइएको घोषणा पत्र समेत बाडिएको देखिएन। न त घोषणा पत्रमा लेखिएको बारे ब्याख्या विश्लेषण नै गरियो।

एकातिर घोषणा पत्रमा नेपालमा रेमिट्यान्स बढाउने कुरा लेखिएको छ। साथै नेपालमा रेमिट्यान्स पठाउन एनआरएन आईसीसीले आह्वान पनि गरिएको छ। अर्कोतिर गैर-आवासीयले रेमिट्यान्स पठाउँदा बिकृति उत्पन्न भएको र बैंकमा पठाएको रकम सहकारी तिरे पुगेर गैर-आवासीयले दुख खाएको कुरा कुरा आजीवन सदस्यले उठान गर्न समय माग गर्दा पनि समय नदिएर लण्ठाएको पाइयो। त्यस्तै गैर-आवासीयको सुचनाको हक अनुरुप अहिले ललिता निवास काण्डमा के भएको हो सो बारे सदस्यहरुलाई जानकारी गराउन कसैले बोलेको सुनिएन। प्राय: एनआरएनसंग असंबन्धित कुरो मात्र सुनियो।

यसरी तुक न ताकको छ घण्टा लामो कार्यक्रम गरि बेलुकी ८ बजे सभाध्यक्ष बेद खरेलले कार्यक्रम समापन गरे। अब सर्वसाधारण एनआरएन सदस्यले नभएर नेताहरु र सत्यनारायण्ले नै आशिर्बाद दिएर प्रत्यासी सबैलाई पदाधिकारी बनाई दिउन भन्ने शुभ कामना ! ॐ श्री केशवाय नम: