काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलमाथि कारवाही गरेको छ । यो दूरसञ्चार क्षेत्रको अहिलेसम्मकै ठूलो कारबाही हो । ग्राहकको मन्जुरी नलिई गेमलफ्ट, ह्वावे एप ग्यालरीजस्ता भ्यालु एडेड सर्भिस आफैँ नवीकरण गराएको र यसबाट रकम लिएको अभियोग एनसेलमाथि लागेको छ । प्राधिकरणले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलमाथि १ अर्ब ११ करोड २९ लाख रुपियाँ क्षतिपूर्ति भराउने निर्णय गरेको छ ।
साउन ३२ गते बसेको प्राधिकरणको बोर्ड बैठकले यस्तो निर्णय गरेको हो । एपको स्वतः नवीकरण हुँदा प्रयोगकर्ताले थाहै नपाई ब्यालेन्स घट्ने समस्या रहेको पुष्टी भएको हो । प्राधिकरणले एनसेललाई तोकेको क्षतिपूर्ति कम्पनीले सम्बन्धित ग्राहकलाई नै उनीहरूको मोबाइलमा फिर्ता गगराउन भनेको छ । तीन महिनाभित्र एनसेलले क्षतिपूर्तिबापतको रकम ग्राहकलाई नै फिर्ता गरिसक्नु पर्ने छ ।
फिर्ता गरिएको रकमको विवरण मासिक रूपमा उपलब्ध गराउन समेत प्राधिकरणले एनसेललाई भनेको छ । रकम फिर्ता गर्दा कुनै ग्राहकको सेवा बन्द भई वा अन्य कुनै कारणले ग्राहकको पहिचान हुन नसकेको अवस्थामा फिर्ता गर्नुपर्ने रकमलाई छुट्टै कोष खडा गरी सो कोषमा उक्त रकम जम्मा गर्नुपर्ने निर्णय प्राधिकरणले गरेको छ । एनसेल प्रयोगकर्ताले मोबाइलबाट आफैँ ब्यालेन्स घट्ने गरेको उजुरी गरेपछि प्राधिकरणले अनुसन्धान गरेको थियो ।
अध्ययनबाट २०७५ असोज १५ देखि २०७७ जेठ १८ सम्म एनसेलले गेमलफ्ट नामको भ्यास सेवामार्फत ११ करोड ३७ लाख रुपियाँ आर्जन गरेको थियो । ह्वावे एप ग्यालरीको नाममा कम्पनीले सोही अवधिमा ९९ करोड ९२ लाख रुपियाँ आर्जन गरेको छ ।