एनसेल खरीद-बिक्रि प्रकरण छानविन गर्न गठित समितिले बुझायो प्रतिवेदन

काठमाडौं । एनसेल शेयर खरिदबिक्रीमा अध्ययन गर्न बनेको समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई बुझाएको छ । समितिले यो प्रकरणमा थप छानबिन आवश्यक रहेको निष्कर्ष निकालेको हो । निवर्तमान महालेखापरिक्षक शर्मा नेतृत्वको पाँच सदस्यीय समितिले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको हो, जसमा पटकपटक एनसेलको शेयर खरिदबिक्री हुँदा राज्यका कतिपय निकायहरुले आफ्नो जिम्मेवारी पालना नगरेकाले थप छानबिन गर्न सिफारिस गरिएको छ ।


समितिले पटकपटक शेयर खरिदबिक्रीका क्रममा स्रोत नखुलेको सम्पत्ति प्रयोग भएको आशंका गर्दै संलग्नहरुमाथि सम्पत्ति शुद्धीकरणको पाटोमा अनुसन्धान गर्न सिफारिस गरेको छ । अनि, कानुन विपरितका क्रियाकलापमा सहजीकरण गरिदिनेहरुमाथि छानबिन गरी दोषी देखिए भ्रष्टाचारको आरोपमा अनुसन्धान अघि बढाउन उपयुक्त हुने सुझाव दिएको हो ।

स्मार्टसेलमा लगानी गरेको समूहले राज्यलाई तिर्नुपर्ने दायित्व नतिरेको अवस्थामा त्यही समूहले वैदेशिक लगानीको नाममा फेरि एनसेलमा लगानी गरेको भन्दै समितिले एनसेलको शेयर खरिदबिक्रीसम्बन्धी पछिल्लो सम्झौतामा शंका व्यक्त गरेको छ । समितिले नेपालबाट बाहिरिने निर्णय गरेको आजिआटाले नेपालमा लगानीको वातावरण छैन भनी दिएको प्रतिक्रियामा समेत प्रश्न उठाएको छ । एनसेलले नेपालमा लिएको ऋणमाथि प्रश्न उठेको भन्दै समितिले विदेशी लगानीकर्ताहरुले नेपालमा गरेको लगानीको तुलनामा असीमित लाभ विदेशमा लगेको औंल्याएको छ ।