काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । पहिलो चरणमा भएको निर्वाचनमा ३ जना मध्येका कुनै पनि प्रत्यासीले ५० प्रतिशत मत नकटाएपछि दोस्रो चरणको निर्वाचनमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच चुनावी भिडन्त पक्का भएको थियो । तर, उनीहरुले सहमतिको लागि समय मागेपछि २ बजेका लागि निर्धारित चुनाव पछि सारिएको थियो ।
अञ्जनलाई वरिष्ठ उपाध्यक्षमा उमेशले समर्थन गर्ने सहमति जनाएपछि अञ्जन निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचन समितिले अञ्जनलाई औपचारिक रुपमा निर्विरोध निर्वाचित भएको घोषण गर्न भने बाँकी छ । पहिलो चरणको निर्वाचनमा अञ्जनले ३७.९९ प्रतिशत मत ल्याएका थिए भने उनका निकटतम प्रतिस्पर्धी उमेशले ३१.७१ प्रतिशत मत पाएका थिए । ३०.४६ प्रतिशत मत पाएका रामचन्द्र संघाइ भने दोस्रो चरणको प्रतिस्पर्धाबाट बाहिरिएका थिए ।
महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्षमा चुनिएको उम्मेदवार तीन वर्षे कार्यकालपछि स्वतः अध्यक्ष हुने व्यवस्था छ । यो कार्यकालमा यसअघि महासंघको वरिष्ठ उपाध्यक्ष रहेका चन्द्रप्रसाद ढकाल स्वतः अध्यक्ष बनेका छन् । एसोसिएटतर्फ उपाध्यक्षमा रामचन्द्र संघाइ प्यानलकी ज्योत्सना श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा रामचन्द्र संघाइ पक्षकै सुरकृष्ण वैद्य र वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ प्यानलका हेमराज ढकाल विजयी भएका छन् ।