काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीबारे निर्णय गर्न सत्तारुढ दलहरुबीच आज निर्णायक भनिएको वार्ता हुँदैछ । सत्ता गठबन्धनको बैठक बिहीबार दिउँसो तीन बजेका लागि बोलाइएको छ । शुक्रबार प्रतिनिधि सभामा एमसीसी पेश गर्ने तयारी छ । यस विषयमा साझा धारणा बनाउने वा एक्लाएक्लै जाने भन्ने विषयमा आज निर्णय हुने भएको हो ।
बुधबारको संसद बैठकमा एमसीसी पेश गर्ने तयारी रहेपनि दलहरुबीच सहमति नजुटेपछि स्थगित भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको भेटवार्तामा एमसीसी संसदमा पेश गर्नुभन्दा अघि गठबन्धनको बैठक बोलाउने सहमति भए अनुसार बिहाीबार बैठक बोलाइएको हो ।
माओवादी केन्द्रले एमसीसीलाई जबरजस्ती अघि बढाए गठबन्धन तोडिने चेतावनी दिइसकेको छ । माओवादी केन्द्रले बुधबार एमसीसीको विरोधमा आफ्ना भ्रातृ संगठनहरुलाई आन्दोलनमा उतारेको छ । नेपाली कांग्रेस एमसीसी जस्ताको तस्तै संसदबाट पारित गर्नुपर्ने पक्षमा छ । तर माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी संशोधनविना संसदमा लैजान नहुने पक्षमा छन् ।