काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा्ले आइतबार बोलाएको सर्वदलीय बैठक सकिएको छ । संसदमा जारी एमालेको अवरोध र अमेरिकी सहयोग सम्बन्धी सम्झौता एमसीसीको विषयमा आज छलफल भएको छ । बैठकमा एमाले भने सहभागी भएन । सोहीकारण बैठकले ठोस निष्कर्ष भने दिन सकेन ।
बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सर्वदलीय बैठकमा लामो समयदेखि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसद्मा गर्दै आएको अवरोध र एमसीसी सम्झौताको विषयमा छलफल भएको जानकारी गराए । थप छलफलबाट यी विषयलाई निष्कर्षमा पुर्याउने सम्बन्धमा आइतबार सहमति जुटेको समेत उनले जानकारी गराए ।
‘सर्वदलीय बैठकमा प्रधानमन्त्रीले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई आमन्त्रण गरेका थिए । संसद् अवरुद्ध हुँदा संसद्को काम र जनताको अपेक्षा प्रभावित भएको विषयमा सत्तारुढ दलले चिन्ता व्यक्त गरेका छन् । असहमति प्रकट गर्ने थलो संसद् भए पनि सशक्त प्रतिपक्षी दलले त्यसलाई बन्धक बनाउनु नहुने नेताहरुले जोड छ । बैठकले संसद् अवरुद्ध हुँदा समग्र संसदीय व्यवस्था कमजोर हुने भन्दै बैठकले यसको निकास खोज्न प्रतिपक्षी दल एमालेलाई अनुरोध समेत गरेको छ ।
बैठकमा एमसीसी सम्झौतालाई कसरी अगाडि बढाउने भन्ने विषयमा समेत छलफल भएको छ । नेताहरुले एमसीसीको पक्ष र विपक्षमा धारणा राखेका थिए । सम्झौतामाथि थप छलफल हुने उनले बताए ।
बैठकमा प्रधानमन्त्री देउवा, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, सत्तारुढ गठबन्धनका शीर्ष नेता सहभागि भए ।