काठमाडौं । नेकपा (एमाले) को १० औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रको टुङ्गो लागेको छ । सौराहाको बाघमारा चौर वा अन्यत्र होटलका विषयमा छलफलपछि होटल सेभेन स्टार परिसरमा हुने टुङ्गो लागेको हो ।
होटलमा बन्दसत्रका लागि पर्याप्त हल नभएपछि होटल परिसरमा रहेको खुल्ला ठाउँमा डोम निर्माण गरी हलको व्यवस्था गर्न लागिएको छ ।
महाधिवेशन मूल व्यवस्थापन समितिका सहसंयोजक तथा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेका अनुसार होटलका हल र परिसरमा निर्माण गरिने डोमलाई महाधिवेशनमा आवश्यकताअनुसार प्रयोग गरिने छ ।
सो होटलमा एक हजार जना क्षमताको ठूलो एक र साना दुई वटा हलसमेत रहेका छन् । सौराहामा ठूला हल भएको होटलका रूपमा यसलाई चिनिन्छ ।
मङ्सिर १० गते नारायणी नदी किनारमा उद्घाटन सत्र गर्ने यसअघि नै निर्णय भएको छ । बन्दसत्र र नेतृत्व छनोटका काम सौराहाबाट हुनेछ । यी दुवै ठाउँको बिहीबार मात्रै पार्टी महासचिव ईश्वर पोखरेलसहित केन्द्रीय नेताले स्थलगत निरीक्षण गरेपछि बन्दसत्र गर्ने ठाउँको टुङ्गो लागेको हो ।
एमाले चितवनका अध्यक्ष पार्वती रावलका अनुसार महाधिवेशन प्रतिनिधिलाई सौराहामा बस्ने व्यवस्था मिलाइएको छ । सौराहाका तीन हजार ५०० शय्याका लागि होटल व्यवसायीसँग कुराकानी भइरहेको रावलले जानकारी दिनुभयो । क्षेत्रीय होटल सङ्घ (हान) सौराहा र रेष्टुराँ एण्ड बार एशोसिएशन (रेवान) बीच आवासीय सुविधाका लागि छलफल तीव्र पारिएको छ ।
एमालेको बन्दसत्रमा एक हजार ९९९ प्रतिनिधि सहभागी हुनेछन् । तीमध्ये एक हजार ७५० जना जिल्ला जिल्लाबाट छनोट हुनेछन् । महाधिवेशनको उद्घाटनसत्रमा पाँच लाखभन्दा बढी जनता सहभागी गराइने तयारी एमालेले गरेको छ ।
यस्तै एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक भएको छ । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आयोजित पत्रकार सम्मेलनमा महासचिव ईश्वर पोखरेलले दशौँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा पार्टीका कार्यालय सचिव शेरबहादुर तामाङले इसेवामार्फत् पार्टीका हरेक सदस्यहरुलाई कम्तिमा पनि सय रुपैयाँ महाधिवेशनका लागि आर्थिक सहायता प्रदान गर्ने सिष्टमबारे जानकारी गराएका थिए ।