एमालेको मूख्यालय अब थापाथलीको आलिसान भवनमा

काठमाडौं । सत्तारुढ नेकपा एमालेको मूख्यालय अब काठमाडौं, थापाथलीस्थित आलिसान भवनमा सर्ने भएको छ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज नयाँ कार्यालय भवनको स्थलगत अवलोकन गरेका छन्। प्रधानमन्त्रीका आर्थिक सल्लाहकार तथा पूर्वउद्योग राज्यमन्त्री मोती दुगडका आफन्तको यो घर अब एमालेले ५ वर्षसम्म रहने गरी लिन लागेको बताइएको छ ।

कार्यालय थापाथली हाइटस्थित उमंगमार्गमा रहने भएको छ । एमालेले १ वैशाख २०७८ बाट नयाँ कार्यालयमा सर्ने निर्णय गरेको हो । आज मन्त्री तथा नेताहरुसहित प्रधानमन्त्री पार्टी कार्यलयको अवलोकनमा पुगेका हुन् ।

प्रधानमन्त्रीले अवलोकन गरेसँगै कार्यालय लिने निश्चित भएको बताइएको छ । यो कार्यालय उद्योगीले सित्तैमा दिएका हुन वा भाडा तिर्नुपर्ने हो भन्नेबारे भने खुलेको छैन । साढे २ तलाको यो घरमा १३ कोठा छन् । एमाले आउनु अगाडी यो घरमा संयुक्त राष्ट्रसंघ युएन वुमनको कार्यालय रहेको थियो । अहिले एमालेको कार्यालय धुम्बाराहीस्थित पासांग ल्हामु प्रतिष्ठानको घरमा छ । यो घर यति ग्रुपको हो ।