काठमाडौं । नेकपा एमालेमा १० बुँदे सहमति कार्यान्वयनका सम्बन्धमा पुनः विवाद चर्किएको छ । सो प्रयोजनका लागि गठित कार्यदलबाट उपाध्यक्ष भीम रावलले राजीनामा दिएसँगै विवाद सतहमा आएको हो । रावलले शुक्रबार स्थायी कमिटी बैठकमा १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै राजीनामा दिएका हुन् । पार्टी अध्यक्ष केपी शर्मा ओली १० बुँदे सहमति कार्यान्वयन गर्ने अग्रसर नभएको उनको आरोप छ ।
कार्यदलमा भएको छलफल र पार्टीले गरेको निर्णयसमेत मान्य नहुने भएपछि त्यो कार्यदलमा बसिरहनुको कुनै औचित्य नहुने उनको तर्क थियो । स्थायी कमिटी बैठकमा रावलले १० बुँदे सहमतिका विषयमा फरक मत पनि राखेका छन् । उनले स्थायी कमिटीले दुई जना नेतालाई केन्द्रीय कमिटी सदस्य मनोनित गरेकामा पनि असहमति जनाएको नेताहरुले जनाएका छन् ।