एमालेलाई अर्थमन्त्रीको जवाफ-‘संविधानमा ५/७ महिनाका लागि बजेट ल्याउने व्यवस्था लेखिएको भए त्यसै गर्नहुन्थ्यो, यो पूर्ण बजेट हो’

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले हरेक सरकारले जस्तोसुकै अवस्थामा पनि बार्षिक बजेट नै प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको बताएका छन्।

शुक्रबार संसदमा बजेटमाथिको छलफलका सन्दर्भमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले संविधानमा पाँच वर्षका लागि बजेट ल्याउने व्यवस्था नरहेको बताएका हुन्।

बजेटमाथिको छलफलका क्रममा एमालेका सांसदहरुले चुनावी सरकारले पूर्ण बजेट ल्याएको भन्दै आलोचना गरेका थिए । त्यसको जवाफ दिने क्रममा अर्थमन्त्रीले भने, ‘संवैधानिक व्यवस्थाअनुसार बजेट प्रस्तुत गरेको छु । पाँच महिनाको लागि लेखिएको भए त्यसै गर्नहुन्थ्यो, ७ महिनाका लागि लेखिएको भए त्यसै गर्नहुन्थ्यो। त्यो संवैधानिक व्यवस्था भेटिएन, त्यसैले याे पूर्ण बजेट हाे।’

उनले नयाँ नेतृत्वको सरकार आएपनि बजेटले उथलपुथल नहुने बताएका छन्। ‘अध्यादेशबाट आएको बजेट हामी कार्यान्वयन गरिरहेका छौं । अहिले पेश गरेको बजेट पनि पछि आउने सरकारले कार्यान्वयन गर्छ,’ उनले भने।

उनले तोकिएकै समयमा चुनाव हुनेमा सरकार प्रतिवद्ध रहेको र त्यसका लागि बजेट विनियोजन गरिएको बताए।