‘एमालेलाई कसैको बैशाखी आवश्यक छैन, एक्लैले ७० प्रतिशत स्थानीय तह जित्छ’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले एक्लैले स्थानीय चुनावमा ७० प्रतिशत जित्ने दाबी गरेका छन् । मंगलबार अखिल नेपाल महिला संघको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो दावी गरेका हुन् ।

‘हामी ६० देखि ७० प्रतिशत एक्लै जित्न सक्छौ । यति जित्नका लागि अरुको साहारा लिनुपर्दैन । हामी एक्लै लड्न सक्छौ, एमालेलाई कसैको बैशाखी टेक्न आवश्यक छैन,’ उनले भने । उनले आफ्नै पार्टीका नेता घनश्याम भुसालप्रति व्यंग्य हाने । भुसालले विभाजित भएका कम्युनिष्टहरु आउने स्थानीय निर्वाचनमा मिल्नुपर्ने बताएपछि अध्यक्ष ओलीले उनीप्रति सो व्यंग्य हानेका हुन् ।

‘माधव नेपाल भन्ने गुटलाई भनेको कि एमालेलाई ? एमालेलाई भनेको हो भने यस्तो जिस्काउने कुरा नगर्न म सबैलाई सुझाव दिन्छु । झण्डै दुईतिहाइको हैसियतमा रहेको कम्युनिष्ट पार्टीलाई फुटाउने कम्युनिष्ट हुन्छ आफ्नो पार्टीको सरकारलाई भोट नदिएर भाग्ने, अन्त गएर भोट हाल्ने । पार्टीलाई भोट हाल्न परे नहाल्ने, प्रतिक्रियावादीलाई परे पछिल्लो ढोकाबाट गएर भोट हाल्ने । यस्तालाई कम्युनिष्ट मानेर एमालेले मिलिदिनुपर्ने ?’, उनले भने ।