एमाले एकताका बाधक तीन शीर्ष नेता हुन् : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका युवानेता योगेश भट्टराईले एमालेको एकता हुन नसक्नुमा एमालेका तीन शीर्ष नेताको हात रहेको बताएका छन् । बुधबार बिहान सामाजिक संजालबाट आफ्नो प्रतिक्रिया सार्वजनिक गर्दै उनले यस्तो आरोप लगाएका हुन् । एमालेलाई एक बनाउन उनी दोस्रो तहका नेतासँगै लागि परेका बेला शीर्ष नेता नै यसमा बाधक देखिएको आरोप लगाएका हुन् ।

अध्यक्ष केपी ओलीले महन्थ ठाकुर र राजेन्द्र महतोसँग मिल्न तयार हुने र वरिष्ठ नेताद्वय झलनाख खनाल र माधवकुमार नेपाल शेर बहादुर देउवा र प्रचण्डसँग मिल्न तयार हुँदा एमाले एक हुन नसकेको उनको निष्कर्ष रहेको छ ।

उनले भनेका छन्, ‘एमालेको एकताको मुल जड कमरेड केपी ओली आफ्नै पार्टीका वरिष्ठ नेता कमरेड जे एन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्थ ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने, ‘कमरेड जे एन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेरबहादुर देउपा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने।’

उनले एमाले एकताको समस्याको मूल जड यहीं रहेको बताएका छन् ।