एमाले फुटाउन खोजिएको भन्दै मध्यरातमा आयो ओलीको विज्ञप्ती

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार मध्यराती एक विज्ञप्ती जारी गरि एमाले फुटाउन लागेको भन्दै त्यस्तो कार्य पार्टीका लागि क्षम्य नहुने बताएका छन् । राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने र एमालेलाई विभाजन गर्ने षड्यन्त्र भइरहेको भन्दै उनले यस्तो बताएका हुन् । सरकारले पूर्व घोषित प्रतिवद्धता विपरित हठात् प्रतिनिधिसभाको अधिवेशन अन्त्य गरेको समेत उनले बताएका छन् ।

उनी विपक्षी दलका नेता समेत हुन् । एमाले अध्यक्ष ओलीले सोमबार साँझ विज्ञप्ति जारी गर्दै नेकपा एमाले र पार्टीको संसदीय दलमा विभाजन गर्ने कुनै पनि वाहाना वा षड्यन्त्र पार्टीका लागि मान्य र क्षम्य नहुने बताएका हुन् । उनले पार्टी नेता कार्यकर्ता र सांसदहरुलाई पार्टी विभाजनको प्रयास विरुद्ध एक हुनुपर्ने समेत उनले आह्वान गरेका छन् । पार्टीमा एकताका लागि कार्यदल स्तरमा भएको १०बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय भइसकेको भन्दै ओलीले स्थायी, केन्द्रीय लगायतका सम्वद्ध कमिटीहरुको बैठकमा सहभागी हुन समेत आग्रह गरेका छन् ।