एमाले र माओवादी केन्द्रलाई निर्वाचन आयोगले भन्याे-‘एकीकरण गर्ने भए १५ दिन भित्र निवेदन दिनू’

काठमाडौं । निर्वाचन आयोगले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गरेको छ । आयोगले सर्वोच्च अदालतको फैसलाअनुसार नेकपा खारेज गरेको हो ।

आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भइ बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामक राजनीतिक दल दर्ता भएको राजपत्रमा प्रकाशित सूचनालाई खारेज गर्ने र सोको सूचना राजपत्रमा प्रकाशित गर्ने भएको छ । नेकपा एमाले र माअ‍ोवादी केन्द्रले एकता गर्ने भए १५ दिनभित्र निवेदन दिन जानकारी गराउने प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

उनकाअनुसार सर्वोच्च अदालतको फैसला अनुसार नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग राजनीतिक दलका रुपमा साविककै अवस्थामा कायम रहेकोबारे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई औपचारिक रुपमा जानकारी दिइनेछ ।

आयोगले नेपाल कम्युनिस्ट पार्टी एमाले र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र अलग अलग राजनीतिक दलका रुपमा साविककै अवस्थामा काम भएको व्यहोरा पनि राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ ।

एमाले र माओवादी केन्द्रले एकीकरण गर्ने भएमा आ–आफ्नो केन्द्रीय समितिबाट दल एकीकरण गर्ने निर्णय गरी सो निर्णय सहित नयाँ दलको रूपमा एकीकरण गर्ने भएमा एकिकरण पछि बन्ने दलको नयाँ नाम र चिन्ह समेत प्रस्ताव गरी १५ (पन्ध्र) दिन भित्र आयोगमा निवेदन सहित उपस्थित हुनका लागि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लाई जानकारी गराउने निर्णय आयोगले गरेको छ ।