एसपीपीमा सहभागी हुन लेखेको पत्र सार्वजनिक भएपछि नेपाली सेनापनि विवादमा तानियो

काठमाडौं । अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा संलग्न हुन नेपाली सेनाले सन् २०१५ मा पत्राचार गरेको पुष्टि भएसँगै नेपाली सेना समेत विवादमा तानिएको छ । सेनाले बुधबार मात्र यसको कडा खण्डन गरेको थियो । तर, बिहीबार भने सन् २०१५ अक्टोबर २७ मा (२०७२ कात्तिक १०) तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षेत्रीले नेपालस्थित अमेरिकी राजदूत अलाइना बी तेप्लिजलाई पत्र लेख्दै नेपाल सरकारका तर्फबाट आधिकारिक रुपमा नेशनल गार्ड स्टेट पार्टनरसिप प्रोग्राम (एनजीएसएसपी) सहभागी हुन अनुरोध गरेको पत्र सार्वजनिक भएको छ ।

त्यसबेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री थिए । ओली २०७२ असोज २५ गते पहिलो कार्यकालमा प्रधानमन्त्री नियुक्त भएका थिए । त्यसबेला रक्षा मन्त्रालय समेत ओलीको जिम्ममा थियो । बुधबार अमेरिकी दूतावासले पत्रकारहरुसँगको कुराकानीमा नेपालले सन् २०१५ र सन् २०१७ मा एसपीपीमा सहभागी हुन पत्राचार गरेको र सन् २०१९ मा अमेरिकाले स्वीकार गरेको प्रष्टीकरण दिएको थियो । उता, एमालले समेत आफ्नो पालामा कुनै पत्राचार नभएको बताइरहेको थियो ।