काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले अमेरिकाको एसपीपी सम्झौताबारे सरकारसँग जवाफ माग गरेका छन् ।
बुधबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद् थापाले नेपाल कुनै पनि सैन्य साझेदारीमा सहभागी हुन नसक्ने दाबी गर्दै एसपीपी प्रस्तावबारे प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा आएर जवाफ दिन सभामुखसँग माग गरेका हुन् ।
‘नेपाली सेना संलग्न हुने कुनै पनि सम्झौता गर्नुहुँदैन । चाहे त्यो छिमेकी मुलुक होस् वा शक्ति तथा मित्र राष्ट्रसँग पनि सेना साझेदार गर्न मिल्दैन । नेपाली कांग्रेस यस्ता प्रकृतिको सम्झौतामा सहभागी हुन सक्दैन।’, उनले भने, ‘प्रधानमन्त्रीले आजैको संसद्मा आएर जवाफ दिन सभामुखसँग माग गर्दछु।’
‘प्रमुख प्रतिपक्षीको तर्फबाट एसपीपी सम्झौताको बारेमा गम्भिर विषयहरू उठे,’ उनले भने, ‘यो विषय सरकारसँग सम्बन्धित छ । संसदमा यत्तिको विषय उठिसकेपछि रक्षा मन्त्रालयको जिम्मेवारी पनि समहाल्नु भएको प्रधानमन्त्रीले स्वयं संसदमा उभिएर तत्काल यसकोबारेमा आफ्नो धारणा राख्नुपर्छ । यो सम्झौता के हो ? कसको पालामा सुरु भयो ? कहाँबाट आयो ?’
उनले समचार विभिन्न कुराहरू आइरहेकाले यसबारले सरकारले स्पष्ट पार्नुपर्ने भनाइ राखे । ‘हामी बाहिर छापाहरूमा पढिरहेका छौँ, यो दशबुँदा,’ उनले भने, ‘एउटा पक्ष भन्छ यो असत्य हो, यस्तो कुनै बुँदै छैन । सेनाका प्रवक्ता भन्नुहुन्छ यसका बारेमा आजसम्म हामीले थाहा पाएका छैनौँ ।