एसियन कप छनोटमा नेपाल र इन्डोनेसियाबीच आज प्रतिस्पर्धा

काठमाडौं । एएफसी एसियन कपको तेस्रो चरणको छनोट खेलिरहेको नेपालले आज इन्डोनेसियासँग खेल्दैछ । समूह ए मा यसअघि लगातार दुई खेल हारिसकेको नेपालको एसियन कपमा पुग्ने सम्भावना सकिसकेको छ । त्यसैले नेपाल सान्त्वना जितसहित छनोट यात्रा सकाउने लक्ष्यमा छ । नेपाल र इन्डोनेसियाबीचको खेल आज राति १ बजे कुवेतको कुवेत सिटीस्थित जाबेर अल अहमद इन्टरनेशनल स्टेडियममा हुनेछ । पहिलो खेलमा कुवेतलाई हराएको इन्डोनेसिया दोस्रो खेलमा जोर्डनसँग पराजित भएको थियो ।

इन्डोनेसियाको लागि भने नपालविरुद्धको नतिजा एसियन कपमा छनोट हुनका लागि महत्वपूर्ण बन्न सक्छ । लगातार दुई खेल जितेको जोर्डन ६ अंकसहित शीर्ष स्थानमा छ र इन्डोनेसिया र कुवेतको समान ३ अंक छ । तेस्रो चरणको छनोटबाट समूह विजेता बन्ने टोली सिधै अर्को वर्ष हुने एसिया कपमा छनोट हुनेछ । यस्तै उत्कृष्ट पाँच उपविजेता पनि एसिया कपमा छनोट हुनेछ । त्यसैले नेपाल बाहेक बाँकी तीनवटै टिम सकेसम्म धेरै अंक जोड्ने लक्ष्यमा छन् ।

नेपालको लागि इन्डोनेसिया नयाँ प्रतिद्वन्दी हो । नेपालले अहिलेसम्म इन्डोनेसियासँग एक खेल मात्र खेलेको थियो । नेपालले इन्डनेसियासँग सन् २०१४ मा मैत्रीपूर्ण खेल खेलेको थियो । मालाङ्गमा भएको उक्त खेलमा नेपाल २÷० ले पराजित भएको थियो । प्रतियोगितात्मक खेलमा भने नेपालले इन्डोनेसियासँग पहिलो पटक खेल्न लागेको हो ।