ओभर-स्टे गरेको अभियोगमा १० बंगलादेशी नागरिक पक्राउ

काठमाडौं । भिसा अवधि समाप्तपछि पनि गैरकानूनी रुपमा (ओभर स्टे) बस्दै आएका १० बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयले सोह्रखुट्टे क्षेत्रबाट १० जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा अनिसुर रहमान, अबदुल्लाह, इमामुल हुसेन, हाफिजुर रहमान, सोजिब हुसेन, शैफुल इस्लाम, बिल्लाल हुसेन, सलिम, नासिर उड्डिन र एसिन खान छन् । पक्राउ परेका सबैलाई कारबाहीका लागि अध्यागमन विभागमा पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले बताए । अध्यागमनले उनीहरुलाई स्वदेश फिर्ता गराउने प्रक्रिया अघि बढाउने भएको छ ।