ओमान, साउदी र कुवेतले रोके अन्तर्राष्ट्रिय उडान, नेपाली कामदार प्रभावित

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहरले यूरोपलाई प्रभावित बनाएपछि खाडी मुलुकहरुले धमाधम अन्तर्राष्ट्रिय उडानमा प्रतिवन्ध लगाइरहेका छन् । यसले नेपाल आउने तयारीमा रहेका र वैदेशिक रोजगारीमा जाने तयारीमा रहेको नेपालीको यात्रा पुनः प्रभावित हुन थालेको छ ।

साउदी अरेवियाले पहिलो चरणमा एक साता र दोस्रा चरणमा अर्को एक साता सबै उडानमा रोक लगाएको छ । यता, ओमानले समेत एक हप्ताका लागि अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ । कोरोना महामारीको पछिल्लो अवस्थालाई मध्यनजर गर्दै मंगलबारदेखि पुस १४ गतेसम्म सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेको ओमानस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

ओमानका सम्पूर्ण हवाईस्थलमार्गबाट हुने आवागमन बन्द गरिएको जनाउदै त्यहाँको सर्वोच्च कमिटीले त्यसपछिको भाइरसको विस्तार फैलावटको अवस्थाको आधारमा अर्को निर्णय लिने उल्लेख छ ।

साउदी र कुवेतले समेत यस्तै नीति अपनाएका छन् । यी मुलुक बढी नेपाली पुग्ने मध्येमा पर्छन् । पछिल्ला दिनमा बेलायतसहित यूरोपका अन्य मुलुकमा नयाँ खालको कोरोना भाइरसले संक्रमण फैलावट लिइरहेको छ ।