काठमाडौं । जापानमा राजधानी टोकियोमा जारी ३२ औं गृष्मकालिन ओलम्पिकमा नेपाली खेलाडीको प्रदर्शन औसतः मात्र रह्यो । शुक्रबार बिहान नेपाली एथ्लेटिक्स खेलाडी सरस्वती चौधरी मैदानमा उत्रिइन् । तर, उनी समेत प्रारम्भिक चरणबाटै बाहिरिएकी छन् । शुक्रबार बिहान भएको महिला १०० मिटर दौडको प्रारम्भिक चरणको हिटमा सरस्वती ९ खेलाडी मध्ये आठौं स्थानमा रहेर दौड पुरा गरिन् । उनले व्यक्तिगत समयमा समेत सुधार ल्याउन सकिनन् ।
साथै राष्ट्र्रिय कीर्तिमानबाट समेत टाढा रहिन् । उनले १२.९१ सेकेण्डमा १ सय मिटरको दूरी पार गरिन् । उनीको व्यक्तिगत सबैभन्दा बेस्ट समेत भने १२.५५ सेकेन्ड हो । प्रारम्भिक चरणमा कूल २७ खेलाडीले भाग लिए । जसबाट हरेक हिटको शीर्ष तीन र अर्को एक उत्कृष्ट समय हुने खेलाडी गरी १० जना महिला १०० मिटरको राउण्ड १ मा प्रवेश गरे ।
यससँगै ओलम्पिकमा सबै नेपाली खेलाडीको प्रदर्शन सकिएको छ । यो पटक ओलम्पिकमा नेपालबाट ५ खेलाडीले भाग लिएका थिए । सुटिङकी कल्पना परियार र पौडी खेलाडीद्वय एलेक्स शाह र गौरिका सिंहले राष्ट्रिय कीर्तिमान बनाए । जुडो खेलाडी सोनिया भट्ट र चौधरीको सहभागिता भने उल्लेखनीय रहन सकेन । ओलम्पिकको इतिहासमा नेपालले पदक जित्न सकेको छैन ।