ओलीको आलोचना गरेको भन्दै एमालेद्धारा संसद अवरोध, अमर्यादित शब्द हटाउन सभामुखको निर्देशन

काठमाडौं । नेकपा (एमाले)ले फेरि संसदमा अवरोध गरेको छ । शुक्रबार बसेको संसद बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडुले एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिमाथि आलोचनात्मक टिप्पणी गरेको विरोधमा एमालेले संसद अवरोध गरेको हो ।

बैठकमा विशेष समय लिएर बोलेका कानुनमन्त्री बडूले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि छलफलका क्रममा दिएको अभिव्यक्तिलाई स्तरहीन भनेका थिए ।

लगतै एमाले सांसद खगराज अधिकारीले नियमापत्ति गरे । सभामुखले आफ्नो ध्यानाकर्षण भएको बताएपछि उद्योगमन्त्री बडूले आफ्नो सम्बोधन जारी राखे ।

आयल निगमलाई निजीकरण गर्न लागिएको भन्दै अध्यक्ष ओलीले बिहीबारको बैठकमा सरकारको आलोचना गरेका थिए ।

मन्त्रीको बडुले अध्यक्ष ओलीको विषयमा टिप्पणी गर्दै गर्दा एमाले सांसदहरुले सुरुमै नियमापत्ति गरेका थिए । एमाले सांसद खगराज अधिकारीले मन्त्री बडुको अभिव्यक्ति संसद रेकर्डबाट हटाइनुपर्ने माग गर्दै छानबिन समिति गठनको माग गरेका थिए ।

मागलाई अध्ययन गर्ने सभामुखको अभिव्यक्ति पछि पनि एमाले सांसदहरुले संसदमा होहल्ला गरिरहे । एमालेका सांसदहरुले मन्त्री बडुले बोलेको शब्द आपत्तिजनक भएको भन्दै नहटाएसम्म संसद चल्न नदिने चेतावनी दिए । एमालेको निरन्तर अवरोध पछि सभामुखले संसद बैठक केहीबेरका लागि स्थगित गरेका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय मूल्य तथा मान्यताभन्दा बाहिर गएर बोलिएका अमर्यादित शब्द हटाउन सचिवालयलाई निर्देशन दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सार्वजनिक विषयमा जानकारी गराउने क्रममा अमर्यादित शब्द परेको भन्दै प्रमुख विपक्षी दल नेकपा (एमाले)का सांसदले आपत्ति जनाएका थिए ।

सभामुख सापकोटाले संसदीय मूल्य तथा मान्यताभन्दा बाहिर गएर प्रस्तुत गरिएको शब्द हटाउन निर्देशन दिएपछि प्रतिनिधिसभाको बैठक पुनः सुरु भएको छ ।