ओलीको चियापानमा नेपाल-खनाल पक्षका नेता नजाने

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज चियापान आयोजना गरेको छन् । ११ बजे वालुवाटारमा चियापानका लागि एमालेका नेताहरुलाई निम्ता पुगेको छ । २८ फागुनमा एकलौटी रुपमा एमालेका नेताहरुको जिम्मेवारी खोसेका उनले पछिल्लो समय सम्बन्ध सुधारको प्रयास गरेको देखिन्छ । यद्दपी पटक पटक धोका पाएका अन्य समुहका नेताहरु भने उनको चियापानमा नजाने भएका छन् ।

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल नेतृत्वको समूहले बुधबार र बिहिबार राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । त्यसअगाडी ओलीले बोलाएको चियापान समारोहमा नजाने निर्णय यो समुहले गरेको छ । उता, बामदेव गौतम समुहले समेत आज ओलीले चियापान राखेकै समयमा काठमाडौंमा भेला राखेको छ ।

सोहीकारण उक्त समुह समेत वालुवाटार नजाने भएको हो । सोमबार दिउँसो अध्यक्ष ओलीले एमाले नेपाल र उनीपक्षधरसँग पार्टी कार्यालय धुम्बाराहीमा छलफल गरेका थिए । छलफल सकारात्मक नभएपछि सबै समुहले आआफ्ना कार्यक्रमलाई निरन्तरता दिन लागेका हुन् ।