काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रप्रति गरेको टिप्पणीलाई लिएर अध्यक्ष प्रचण्ड आक्रामक बनेका छन् । संसदमा ओलीले कुनै दल अरुको सहारा बीना निर्वाचनमा जान नसक्दै भन्दै व्यंग गरेका थिए । साथै उनले जनयुद्धबारे समेत कटाक्ष गरेका थिए । जवाफमा प्रचण्डले एउटा कालखण्डमा भएको आन्दोलनलाई लिएर पटक पटक प्रहार गर्दा अन्याय हुने बताए । साथै उनले भने, ‘तपाइहरु पनि टाउको काटेर जेल गएको हो भन्यो भने के हुन्छ ?’ एमालेको विगत समेत सोही रहेको तर्फ उनले स्मरण गराए ।
एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउन माओवादी र आफुले ठूलो योगदान गरेको भन्दै आगामी निर्वाचनबाट एक्लै एमालेको प्रधानमन्त्री बनेर देखाउन समेत प्रचण्डले चूनौति दिए । ओलीको प्रवृत्तिसँग काम गर्न असहज भएको भन्दै उनलेृ एमालेका अन्य नेता र कार्यकर्तासँग काम गर्न भने कुनै कठिन नभएको बताए । दाहालले प्रतिनिधिसभाको शनिबारको बैठकमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथि सहभागी हुने क्रममा ओलीलाई आफ्नो प्रवृत्ति सुधार्न सुझाव दिए ।
उनले भने, ‘मलाई त एमालेका धेरै नेता कार्यकर्ताप्रति भरोसा, विश्वास छ अहिले पनि । यो प्रवृत्ति जसमा यति धेरै अहंकार, यतिधेरै दम्भ र निषेधात्मक प्रवृत्ति नहुने हो भने एमालेका नेता कार्यकर्तासँग काम गर्न कठिन हुने देखिँदैन ।’ यसअघि प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा स्थानीय तहको निर्वाचन, राष्ट्रिय सभाको निर्वाचन, संघीय र प्रदेश सरकार गुमाएको कुरालाई लिएर ओलीले आत्मसमीक्षा गरी वामपन्थी एकताको कुरा गर्ने अपेक्षा गरेको तर त्यसो नभएको बताए । एमाले अध्यक्ष ओलीले निर्वाचनमा माओवादी पत्तासाफ हुने भनेको सम्झँदै उनले आँखा जुधाएर बहसमा आउन समेत ओलीलाई चूनौति दिए ।