‘ओली सच्चिए भन्ने लागेको थियो,गणतन्त्रविरोधी बयलगाडामै हुनुहुँदोरहेछ’

काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओली अहिलेसम्म पनि बयलगाढावाला सिद्धान्तमै अडिग रहेको बताएका छन् ।

राजधानीमा आयोजित विरोधसभामा सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री ओलीले गणतन्त्रलाई स्वीकार गरिनसकेको र बयलगाडाकै सिद्धान्तमा रहेको टिप्पणी गरेका हुन् । केपी ओलीलाई चिन्न नसकेको भन्दै उनले क्षमासमेत मागेका छन् ।

‘गणतन्त्रको पक्षमा आँधीहुरी आए पनि म स्वीकार्छु भन्नुभएको थियो । तर, ओलीले मनबाट गणतन्त्र स्वीकार गर्नुभएको थिएन । प्रतिनिधिसभा विघटन गरेर उहाँ बयलगाडामा नै अडिग रहेको प्रष्ट देखिएको छ । उहाँलाई चिन्न नसकेकोमा म जनतासमक्ष माफी माग्न चाहान्छु,’ प्रचण्डले भने ।

सभामा बोल्दै उनले भने, ‘हामीले बुझ्न सकिएन छ,केपी ओलीलाई । यति छिटो संविधानमाथि निमर्म प्रहार गर्न सकेको थिएन् । हामीले बनाएको कम्युनिस्ट पार्टीको अध्यक्षले गर्नुहोला भनेर सपनामा पनि सोचेका थिएनौं ।’

उनले भने आफूले नै बनाएको प्रधानमन्त्री केपी ओलीका कारण संविधान र गणतन्त्रमाथि प्रहार भएको भन्दै जनतासँग क्षमा चाहान्छु । ‘तीन वर्षअघि पार्टी एकीकरणको प्रस्ताव लिएर जाँदा तीन वर्षपछि ओलीका विरुद्ध आन्दोलन गर्नुपर्ला भनेर सोचेको थिइनँ, विडम्बना आज विरोध प्रदर्शन र सभा गर्दैछौं,’ प्रचण्डले भने ।

प्रचण्डले केपी ओलीलाई प्रधानमन्त्री बनाएकोमा क्षमा माग्नुपर्ने अवस्था आएको बताए ।

‘गणतन्त्र उहाँको सिद्धान्त होइन, बयलगाडावाला सिद्धान्त हो भन्ने थाहा थियो । उहाँ संघीयता र धर्मनिरपेक्षता पक्षधर होइन भन्ने थाहा थियो, तर गणतन्त्रको बाढी आएपछि उहाँ बगेर आउनुहोला भन्ने लागेको थियो,’ प्रचण्डले भने, ‘आज घटनाक्रमले के पुष्टि गर्‍यो भने उहाँ गणतन्त्रविरोधी बयलगाडामै हुनुहुँदोरहेछ ।’