काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले आवश्यक परे ओली सरकार ढाल्न सक्ने तागत रहेको बताएका छन् ।
शुक्रबार कांग्रेस निकट स्थानीय तहका कर्मचारीको काठमाडौंमा आयोजित भेलालाई सम्बोधन गर्दै विपक्षी दलका नेतासमेत रहेका देउवाले उक्त चेतावनी दिएका हुन् ।
खासगरी अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने गरी सरकारले देखाइरहेका गतिविधिप्रति उनको आक्रोस थियो ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार हुने गरी विधेयक आइरहेको तर्फ इंगित गर्दै उनले प्रजातान्त्रिक अधिकारका लागि लडेर आएको पार्टी भएकाले आवश्यक परे ओली सरकार पनि ढाल्न सक्ने तागत रहेको उल्लेख गरे ।
राणा, पञ्चायत र ज्ञानेन्द्रको शासन प्रजातान्त्रिक लडाईकै माध्यमबाट ढलेको उनको भनाई थियो ।
गुठी विधेयकको सम्बन्धमा पनि उनले षड्यन्त्र गरी पुनः ल्याउन सक्ने सम्भावना रहेको बताए ।
उक्त अवसरमा कांग्रेस नेता रामचन्द्र पौडेलले ठूला भ्रष्टाचार काण्डमा सरकारले निष्पक्ष छानविन गर्नु पर्ने बताए ।