काठमाडौं । कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि शुरु हुने गरि मिति तय भएको छ । मंगलबार राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षाको मिति तय गरेको हो । विद्यार्थीले परीक्षा सम्बन्धित विद्यालयबाटै अर्थात होम सेन्टरबाटै दिन पाउने भएका छन् । यो परीक्षा ९ भदौसम्म चल्ने छ । परीक्षा अवधिमा गाइजात्रा र जनैपूर्णिमाको दिन बिदा दिइने छ । तर, शनिबार भने परीक्षा चल्ने छ । यसअघि परीक्षा जेठ २६ मा तोकिएको थियो ।
तर, कोरोनाको दोस्रो लहरसँगै परीक्षा स्थगित भएको थियो । यस पटक तीन लाख ८६ हजार विद्यार्थीले परीक्षाको फाराम भरेका छन् । माध्यामिक तहको अन्तिममा लिइने कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले यो पटक १०० पूर्णांककै गराउने भएको छ । गत वर्षको मूल्यांकन पद्धति प्रभावकारी नदेखिएकाले यो वर्ष सय पूर्णांककै परीक्षा गराउने तयारी गरेको बोर्डको भनाई छ । गतवर्ष भने परीक्षा समय र अंक भार घटाएर परीक्षा लिइएको थियो ।