कच्चा तेलको भाउ ११ महिना यताकै सस्तो

काठमाडौं । पछिल्लो एक महिनामा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ । एक महिनाकै अवधिमा विश्व बजारमा कच्चा तेलको भाउ करिब १९ प्रतिशतले घटेको हो ।

विश्वभर देखिएको आर्थिक मन्दी र यरोपियन युनियनले रुसी तेलमा लगाएको ‘क्याप’का कारण अन्तर्राष्ट्रिय बजारमा कच्चातेलको भाउमा भारी गिरावट आएको हो ।

एक महिनामै कच्चा तेलको भाउ प्रतिब्यारेल १८ डलरसम्म घटेको छ। गत नोभेम्बर ७ मा प्रतिब्यारेल ९७ डलरमा पुगेको ब्रेन्ट क्रुड आयलको मूल्य आज (डिसेम्बर ७) ७९ डलरमा झरेको छ । एक महिनामा ब्रेन्ट क्रुड आयलको मूल्य १८.५५ प्रतिशतले घटेको हो ।यो पछिल्लो ११ महिना यताकै कम हो ।

यसैगरी, ओपेक बेन्चमार्क डब्ल्यूटीआइ क्रुड आयलको भाउ १८.६८ प्रतिशत अर्थात् १७ डलर घटेको छ । एक महिना अघि प्रतिब्यारेल ९१ डलर रहेको डब्ल्यूटीआइको भाउ बुधबार प्रतिब्यारल ७४ डलरमा कारोबार भइरहेको छ।