काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ ४ महिना यताकै महँगो भएको छ । विश्वका ठूला तेल उत्पादक देशहरुले उत्पादनमा कटौती गरेसँगै गत अप्रिलदेखि कच्चा तेलको भाउ लगातार उकालो लागेको हो ।
पछिल्लो ४ महिनामा कच्चातेलको भाउ २० प्रतिशतले बढिसकेको छ । सोमबार विश्व बेन्चमार्क ब्रेन्ट क्रुड आयलको भाउ प्रतिब्यारेल ८६.२१ डलर पुगेको छ । यो पछिल्लो ४ महिना यताकै उच्च हो । यसअघि गत अप्रिल १४ मा ब्रेन्टको भाउ प्रतिब्यारेल ८६ डलर थियो । अप्रिलपछि घटेर ब्रेन्टको भाउ ७१ डलरसम्म झरेको थियो ।
यसैगरी, आज ओपेक बेन्चमार्क डब्ल्यूटीआइ क्रुड आयलको भाउ ८२.७६ डलर पुगेको छ । डेढ महिना अघि यसको भाउ प्रतिब्यारेल ६६ डलर थियो । यस्तै, मुर्बान क्रुड आयलको भाउ प्रतिब्यारेल ८८ डलर पुगेको छ ।
साउदी अरबले बिहीबार थप एक महिना दैनिक १० लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने घोषणा गरेको थियो । यस्तै, रुसले पनि निर्यात कटौती गर्ने बताएको छ । यिनै कारणले तेल आपूर्तिमा कमी आउँदा भाउ बढेको हो ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै त्यसको प्रत्यक्ष असर नेपालमा पनि पर्छ । नेपालले अहिले सिधै अन्तर्राष्ट्रिय बजारबाट तेल खरिद नगरी भारतसँग खरिद गरेर ल्याउने गरेको छ । विश्व बजारमा कच्चा तेलको भाउ बढ्दा भारतमा पनि बढ्ने हुनाले त्यसको प्रभाव नेपालमा पनि पर्छ ।
नेपाल आयल निगमले गत साउन १ गतेदेखि स्वचालित मूल्य प्रणाली लागू गरेको छ । सो अनुसार भारतबाट भाउ बढेर आए नेपालमा पनि बढ्ने र घटेर आए घट्ने गर्छ । विश्व बजारमा भाउ बढिरहेकाले आगामी दिनमा नेपालमा पनि तेलको भाउ बढ्ने सम्भावना देखिन्छ । गत साता मात्रै निगमले डिजेल र पेट्रोलको भाउ बढाएको थियो ।