कतारमा चर्को घाममा काम लगाउने ५४ कम्पनीलाई कारवाही

File

कतार । कतारमा मध्य दिउँसोको चर्को घाममा काममा लगाउन पाइदैंन । तर, सरकारको यो नियम अटेरी गरि काममा लगाएका ५४ कम्पनी कारवाहीमा परेका छन् । कतार सरकारले दिउँसोको चर्को घाममा काम लगाउने ५४ वटा कम्पनीलाई कारबाही गरेको हो ।

मजदुरलाई दिउँसोको चर्को घाममा काम लगाउने कम्पनीलाई कारबाही गरिएको त्यहाँको प्रशासनिक विकास, श्रम तथा सामाजिक सुरक्षा मामिला मन्त्रालयलाई उदृत गर्दै संचारमाध्यमले जनाएका छन् । कतारमा जुन १ देखि सेप्टेम्बर १५ सम्म बिहान १० देखि दिउँसो साढे ३ बजेसम्म घर बाहिर काम लगाउन पाइन्न । दिउँसो हुने उच्च तापक्रमबाट मजदुरलाई बचाउन यस्तो नियम बनाइएको हो ।

खाडीका बहराइन, कुवेत र ओमनले १ जुलाईदेखि ३१ अगस्टसम्म, साउदी अरब र यूएईले १५ जुनदेखि १५ सेप्टेम्बरसम्म दिउँसोको समयमा मदजुरलाई बाहिर काम लगाउन नपाइने नियम कार्यान्वयनमा ल्याइसकेका छन् ।

बहराइनमा मध्याह्न १२ देखि ४ बजेसम्म, कुवेतमा बिहान ११ देखि ४ बजेसम्म, ओमनमा मध्याह्न १२ः३० देखि ३ः३० सम्म, साउदीमा १२ देखि ३ बजेसम्म र यूएईमा १२ः३० देखि ३ बजेसम्म काममा लगाउन नपाइने नियम छ । यी मुलुक धेरै नेपाली नागरिक काममा पुगेको मुलुक हुन् ।