कतारमा रोजगारी परिवर्तन गर्न राजिनामा पत्र अनिवार्य

File

काठमाडौं । अब कतारमा रोजगारी परिवर्तन गर्न चाहने कामदारले नयाँ कामका लागि आवेदन दिने क्रममा साविकको रोजगारदातासँग बुझाएको राजिनामा पत्र समेत संलग्न गर्नुपर्ने भएको छ । कतारको प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालयले यस्तो प्रावधान कार्यान्वयनमा ल्याएको हो ।

अब कामदारले रोजगारी परिवर्तन गर्न खोजेमा नयाँ कम्पनीको अफर लेटरमा हस्ताक्षर र स्टाम्पसमेत आवश्यक हुने मन्त्रालयको सूचनामा उल्लेख छ । यसरी आवेदन प्राप्त भएपछि मन्त्रालयले रोजगारदाता कम्पनी र कामदारलाई म्यासेज पठाउने तथा कामदारले कम्पनी परिवर्तन गर्न लागेको बारेमा समेत जानकारी दिने भएको छ ।

गैरकानूनी रुपमा बढ्दो कामदारको संख्या घटाउन यो उपाय फलदायी हुने कतारी सरकारको विश्वास छ । यसले कामदारको सेवा र सुरक्षामा समेत अभिवृद्धि गर्नेछ । मन्त्रालयबाट अन्तिम स्वीकृति नपाएसम्म कामदारलाई साविकको रोजगारदाताले कम्पनीमै राख्नु पर्नेछ ।

कम्पनी परिवर्तन गर्न दुई वर्ष वा सो भन्दा बढी काम गरिसकेको कामदारले दुई महिना सूचना अवधि र दुई महिना भन्दा कम अवधिमा एक महिना सेवा गर्नुपर्ने शर्त समेत राखिएको छ । रोजगारदाता र कामदारका लागि रोजगार सम्झौताको पालना अनिवार्य रहेको मन्त्रालयको भनाई छ ।

कुनै कामदारले रोजगार सम्झौता वा श्रम कानूनको प्रावधानको उल्लंघन गरेर देश छोडे भने एक वर्ष कतार फर्कन नपाउने गरी नियम बनाइएको छ । नेपालसहित मुलुकबाट कामदार आपूर्ति गर्ने कम्पनीले विभिन्न प्रलोभनमा विदेशमा कामदार लैजाने तर , त्यहाँ पुगेपछि तोकिएबमोजिमको सेवा सुविधा नपाउँदा कामदारले रोजगारी परिवर्तनको प्रयास गरिरहेका हुन्छन् ।