पेरिस । आगामी वर्ष कतारमा आयोजना हुने विश्वकप फुटबलमा साविक विजेता फ्रान्स र फिफा नम्बर वान टीम बेल्जियम यूरोपबाट छनोट हुन सफल भएका छन् । केयलिन एमबापेको ह्याट्रिकको मद्दतमा फ्रान्सले काजाकिस्तानमाथि ८–० को फराकिलो जित निकाल्दै कतारको टीकट काट्न सफल भएको हो । जितसँगै युरोपेली विश्वकप छनोटको समूह डी मा फ्रान्स शीर्ष स्थानमा उक्लिएको छ ।
उता, फिफा वरियतामा विश्व नम्बर १ मा रहेको बेल्जियम समेत कतार विश्वकपमा छनोट भएको छ । शनिबार इस्टोनियालाई ३–१ ले पराजित गरेको बेल्जियमले समेत कतार जाने निश्चित गरेको हो । फ्रान्स र बेलिजयमसँगै कतार विश्वकप खेल्ने ६ टोलीको टुंगो लागेको छ । कतार आयोजकको हैसियतमा खेल्ने छ । दक्षिण अमेरिकी टीमबाट ब्राजिलले विश्वकप खेल्ने निश्चित गरिसकेको छ ।