कथा : अब म सेतो लाउन्न आमा

प्रेमकृष्ण श्रेष्ठ, कीर्तिपुर

उनी पच्चीस वर्षकी मात्र थिइन् । भर्खरै गाउँकै एक कलेजबाट राम्रै प्राप्तांक ओगटेर, स्नातक छिचोलेकी थिइन् । काठमाडौं आएर, स्नातकोत्तरसम्मको पढाइ पुरा गर्ने उनको सपना अझै केही दुरीमै थियो तर उनका अभिभावकले उनको वारेमा यति मात्र ब्याख्या गरे– छोरी, हुर्की, बढी अव उसलाई माइतीमा राख्नु भएन । एक अबला गाउँले नारी न हुन्, परिवेशलाई नियाल्दै, सारा सपनाहरु कुल्चेर बाबुआमाको कुरामा स्वीकृति जनाइन् । उनको बिहे हुँदा उनको अविवाहित बत्तिस वर्षको दाजुले साउदीबाट मेसेन्जरमा शुभकामना पठाएको थियो– बुनु, म भन्दा छ वर्ष कान्छी भएपनि तिमीले विवाहको निर्णय गरेकोमा तिमीलाई लाख लाख शुभकामना । उनलाई लाग्यो, उनको बिहेमा दाजुले थोरै चित दुखाएको छ तर बाबुआमाले घरमा बिहेको लागि दिएको दबाबको अनुमान परदेशी दाजुले अडकल लगाउन सकेन् । उनको विहेपछि भरियाले चौतारीमा भारी बिसाएपछि लिने चैनको एक लामै सास उनको आमाबाबुले लिए । फरक यति थियो कि, बाबुआमाको आँखा भारी बिसाएपछि भारीको मायाले थोरै रसाए ।
त्यसपछि गाउँकै एक मन्दिरमा लगेर, समाजका प्रतिनिधि पात्रहरुले कपडाको टालोले उनको आँखा छोपेर एक अनजान ब्यक्तिलाई एक धर्को सिन्दुर लगाउन लगायो । कपडाको टालो हटेपछि, आँखा खोलेर हेर्दा एउटा पुरुष उनको अघिल्तिर विजयी भावमा मुस्कुराइरहेको थियो । आँखा खोल्नेवितिकै पहिलोपटक दर्शन भएको पुरुषलाई सिन्दुरको मालिक हुनुपर्छ भनी मनमनै ठहर गरिन् अनि कृतज्ञतास्वरुप अरु हिन्दु नारीझैँ त्यो पुरुषको खुट्टामा घोप्टिइन् ।
त्यो पुरुषको खुट्टा र उनको टाउको एकाकार भएर शुरु भएको दाम्पत्य जीवनको सहयात्रा यति छोटो होला उनले सोचेको पनि थिएन ।
विवाह भएको एक साल नबित्दै बिहान मुस्कुँराउँदै मोटरसाइकल चलाएर अफिस गएको श्रीमानको सडक दुर्घटना भएर मृत्यु भएको खबर आयो । उनी निकै कहालिएर रोइन् । एकक्षणको लागि उनको होसहवास नै उडयो । उनी चेतनाविहीन भइन् । तर पनि अलि अलि बाँकी भएको चेतनाको पुँजीले, यो कुरा स्वीकार्न बाध्य नै भयो कि उनको जीवनको सर्वाधिक महत्वपूर्ण पुरुष अर्थात उनको पतिको निधन भयो । त्यो पुरुषको भौतिक अनुपस्थितिमा, कपडाको टालोले छोपेर लगाइदिएको समाजको नासो सिन्दुर समाजले नै फिर्ता लियो । चुराहरु फुटाइए । मंगलसुत्र छिनियो । भोलि लाउँछु भन्दै सजाएका राता राता साडीहरु दराजभित्रै कुच्चिए । अब ऊ सबैको नजरमा बिधवा भई । उनी शिरदेखि पाउसम्म सेतिइन् ।
बिधवा भए पछि उनको जीवनमा दुइटा विकल्प आयो, उनले पतिको घरलाई सदाको लागि त्याग्नु वा पतिको घरमा रहेर जीवनभरि सतित्व धर्म निभाउनु । उनले निधो गरिन्, पतिको घरमै रहेर जीवन बिताउने । आफ्नो महिनाबारी रोकिएकोले, उनलाई लागेको थियो कि पतिले जानेबेला उनलाई एक अमूल्य उपहार दिएर गएको छ ।
घरमा थियो त एक बृद्ध ससुरो र सासू मात्र । ससुरो सरकारी जागिरे थियो भने सासू गृहणी । पति मरेको केही समय सासू–ससुराले प्रेम नै देखाए । बाहिरको सम्पूर्ण काम सासूले सम्हाले । सेतो वस्त्र लगाएको दुई महिना ऊ घरबाटै वाहिरै आएन । कति दिन यसरी घरभित्रै रहेर गुजारिनु ? घर गृहस्थ त चलाउनै पर्यो । पहिलोपटक घरको आँगन नाघेर बाहिर आएको दिन उनलाई एक चालीस, पैँतालीस उमेरको पुरुषले क्वारक्वारती हेर्दै थियो । आफ्नो पति हुँदा कहिले ठाडो नजरले हेर्न नसकेको पुरुषले पहिलो पटक उनलाई साहसपुर्वक क्वारक्वारती हेर्दै थियो । उनलाई पहिलो दिन सारै अप्ठयारो भयो । एक त शरीर नै सेतै, उसमा फेरि एक पुरुषको एकोहोरो नजर ।
भोलिपल्ट पनि त्यही पुरुषले उनलाई त्यसरी नै क्वारक्वारती हेर्यो । उनलाई कहिले दयाले हेरेजस्तो लाग्थ्यो, कहिले मायाले, कहिले सहानुभूतिले त कहिले कामुकताले । एक पटक होइन, दुईपटक होइन, चौध पन्ध्र पटक यसरी एउटै पुरुषले क्वारक्वारती हेरेपछि सारै रिस उठयो र बाटामा कोही नभएको मौका छोपी उनले सोधिन् — ‘तपाई सँधै मलाई किन यसरी क्वारक्वारती हेर्नु हुन्छ ?’
त्यो पुरुषले पनि अधकसाथ बोल्यो, ‘हो, तिमी निकै राम्री छौ । यस्तो लाउँखाउँमा उमेरमा दैवले तिमीमाथि गरेको अन्यायलाई हेरेर दैवलाई सराप्दै छु ।’
‘अवदेखि नहेर्नुस् । मेरो निम्ति दैवलाई सराप्नु पनि पर्दैन ।’ उनले यति बोलेर सरासर घरतिर लागिन् ।
भोलिपल्ट पनि त्यो पुरुषले क्वारक्वारति हेर्न छोडेन । अति नै भए पछि उनले त्यो पुरुषको नजिक गएर सोधिन्,‘ बिन्ति ! मलाई यसरी नहेर्नुस । सारै डर लाग्छ । तपाई के हेर्नुहुन्छ ममा त्यसरी सँधै, मेरो सेतो लुगा, दुब्लो शरीर, विरही आँखा या मेरो लाचार जिन्दगी ?’
त्यो पुरुषले बोल्यो, ‘म तिम्रो छातीमा हेर्छु सँधै । अझै उस्तै ढकमक्क छ । स्त्रीहरुको छाति आफ्नो पति मरेपछि ओइलाए पनि त हुन्थ्यो नि कि कसैको पनि गिद्धे नजर नलागोस् ।’ उनले सोचेको पनि थिएन यस्तो जवाफ आउँछ भनेर । कति कामुक ! कति लालची ! कति पापी ! कति स्वार्थी !
उनलाई त्यो दिनदेखि सवै पुरुषको नजरप्रति घृना जाग्यो । उनलाई लाग्यो, आजको समयमा दया, माया, प्रेम हराइसकेको छ । उनले अठोट गरिन् अव यो बाटोमा कहिले नटेक्ने, त्यो पुरुषको सम्मुख कहिले नपर्ने । एक्ली नारीलाई कति हेप्छन् यो समाजले । मेरो जीवनमा आज पति छैन । तर मेरो पेटमा उनको नासो चल्मलाइरहेको छ । म एक्लो छैन ।
समय बित्दै गयो । बिधवा भएको छ महिना हुँदाको कुरा हो । एक साँझ उनको मोबाइल टिनिनी बज्यो । उनले हेलो भनिन् ।
हेलो भन्नेवितिकै उताबाट आवाज आयो, ‘म आकास, चिन्यौ नि ? म तिम्रो कलेजको साथी । तिमीलाई त्रिचन्द्रमा पढदा दुई पटक प्रपोज पनि गर्ने । तिम्रो बारेमा नराम्रो कुरा सुनेर सारै मजा आएन आषा ।’
उसले थप बोल्यो, ‘तिमीलाई अझै म त्यति नै मन पराउँछु ।’
‘धेरै ढिला भइसक्यो अब त । म गर्भवती छु आकास ।’ उनले भनिन्
‘कति महिनाको ?’
‘छ महिनाको’ उनले सुस्केरा हाल्दै बोलिन्
‘उसो भए, टुहाउनु । धर्तीमा आए पछि मारे पो अपराध हुन्छ । पेटभित्र त मार्न पाइन्छ नि । आषा, पेट खालि गर, तिम्रो सिउँदो म रंगाउँछु ।’
यति भन्नेवितिकै उनले फोन काटिन् । अरु दुईपटक गरेको कललाई उनले उठाएन् ।
कस्ता कस्ता पुरुष आउँछन् जीवनमा एउटा पुरुषको अन्त्यपछि । म एक बिधवा नारी हुँ, बेश्या होइन । फेरि छ, छ महिनाको शिशु तुहाउ भन्ने उनको कत्रो साहस ? आफ्नो विवाह पछि बर्षो बर्षसम्म एक कल नगर्ने आकासले पनि आज खोजी खोजी फोन गरी ल्याएको छ । अझ साहस नै गरेको छ, एक विवाहित नारीसित प्रेम प्रस्तावको । कति पापी हुन्छन् मान्छेहरु ! कति निर्दयी हुन्छन् मान्छेहरु !
थप चार महिना यसरी नै सेताम्य बित्यो । एक साँझ उनको घरमा पचपन्न, साठी उमेर जतिको एक पुरुष कफीको लागि निम्त्याएको थियो । आफ्नो ससुराले निम्तो गरेकोले, उनले सत्कारमा कुनै कमी राखेन् । एक कफीको समाप्ति पछि अर्को कफीको अध्याय सुरु भयो । राजनीतिकदेखि लिएर नेपालको कलाकारितासम्मको कुरा गर्न कफीको चुस्कीमा भ्याए । उनी कफीको कप लिन कोठामा प्रवेश मात्र गरेकी थिइन्, त्यति नै बेला ससुरो, मोबाइलमा फोन आएको बहाना गरी कोठा बाहिर निस्क्यो । ससुरा बाहिर जानेवितिकै त्यो पुरुषको संवादले कोल्टो फेर्यो । उनी ब्यक्तिगत जीवनको कुरा गर्न थाले ।
‘तिम्रो ससुरोबाट तिम्रो वारेमा सुनेर सारै दुख लाग्यो । तिम्रो र मेरो जीवनको नियति एउटै । हेर्नुस् न दुई महिना त भयो नि मेरो पत्नी पनि बितेको । भाविले निधारभित्र गहिरोमा लेखेको अक्षर हामी निधार नै फोडेर मेटन सक्दैनौँ ।’
उनले त्यो पुरुषलाई शिरदेखि पाउसम्म हेरिन् । कालो कोट, रातो टाई, निलो सर्ट र खैरो पाइन्टमा सजिएको त्यो पुरुषको बोलीमा वाहेक अन्त कतै पनि आफ्नो पत्नी बितेको शोकको आभा थिएन ।
‘तिम्रो कति महिना भयो ?’
उनले शीर झुकाउँदै बोलिन्, ‘दश महिना ।’
यति भन्दै बैठक कोठाको भितामा झुन्डिरहेको ठूलो ऐनामा यसो हेरिन् आफनो सशरीर, ऐनामा सेतै झुलिरहेको थियो । त्यो पुरुषको रंगिन प्रतिविम्व भने ऐनाले आधा मात्र झुलाउन सक्यो । उनी कता कता हराइन् । त्यति नै बेला त्यही पुरुषको आवाजले उनी झसंग भइन् ।
‘तिम्रो इच्छा छ भने मसित विहे गर्दा नि हुन्छ । म सुखमै राख्छु तिमीलाई ।’ त्यो पुरुषले यसरी बोल्यो मानौं बिधवा भएकोले ठूलो दया गरेको छ उनीमाथि ।
उनी केही बोलिनन् । फर्केर कोठा बाहिर, आँखा मोटा मोटा आँसुले थिच्दै निस्किन् ।
पुरुष बोल्दै थियो, ‘सोच है सोच तिम्रै भलोको लागि प्रस्ताव गरेको हुँ । हामीलाई त के छ र भने भनेके कुमारी केटीहरु नि विवाहको निम्ति तयार छन् । तिमीलाई उद्धार गरुँ भन्ने मात्र मेरो मनसाय हो ।’
दुई महिने शोकमा परेको बिधुरको, दश महिना शोकमा परेकी यो बिधवामाथिको सहानुभूति उस्लाई पटक्कै रुचिकर भएन । न सिन्दुर पखाल्नुपर्ने, न चुरा फुटाउनु पर्ने, न बर्खी बानुपर्ने, न अरुको कामुक नजरमा डामिनु पर्ने कति छुट छ यहाँ बिधुर पुरुषलाई । श्रीमतीको मृत्यु त बहुविवाहको लाइसेन्स जस्तो रहेछ यहाँ पुरुषलाई । उनको मनमा नानाभाँतिका कुरा खेल्न थाल्यो । उनी आफ्नो कोठामा पुगेर चुकुल लगाइन् ।
अझै कति दिन लाउनु पर्छ मैले यो सेतो कपडा ? उनलाई अत्यास लागेर आयो । आफ्नो पतिको पुण्यतिथि कहिले रहेछ भनी भितेपात्रो केलाएर हेरिन् । उन्नसाठी दिन बाँकी रहेछ । अनि गन्न थाल्यो पात्रोमा औंला टेकेर एक, दुई, तीन चार… । बाइससम्म पुगेर ऊ रोकियो । अनि आफ्नो निधार टेकेर आफैलाई प्रश्न गरिन्, यो अभिशप्त जीवनमा, अझै कस्ता कस्ता पुरुषको सामना गर्नु छ ? कति कामुक नजरमा डामिनु छ ? कति पोलिनु छ समाजबाट ? के बिधवा हुनु पाप गर्नु हो ? के बिधवा नारी बेश्या हो ? उनी त्यो दिन निकै रोइन् ।
त्यो कोट लाउने पुरुषको प्रस्तावलाई अस्वीकार गरेको पाँचौ दिन उनले यो धर्तीमा आफ्नो पेटलाई हस्पितलको बेडमा हलुको बनाइन्, शिशुलाई जन्म दिएर । शिशुको दर्शन पाउनेवितिकै आँखा हर्षाश्रुले रसाउँदै, आफनो काखमा लियो । मातृत्व उर्लियो । गालामा चुम्मा गरिन् । शिशु कलिलो स्वरमा ‘च्याँ –च्याँ’ रोइरहेको थियो ।
‘पुरुष नै पुरुष दुखिरहेको यो बेलामा तिमी पनि पुरुष नै भएर आयौ । तिमी पनि यस्तै दुखाउँछौ कि ? म त बिधवा पो हुँ ।’ उनले मनमनै आफ्नो कलेजको टुक्रोलाई प्रश्न गरिन् ।
त्यति नै बेला उनको बेडनिर नर्स आई र उनलाई इशारा गर्दै बोली, ‘आधा घण्टा भयो अब शिशुलाई आमाको ताजा दुध चुसाउनु ।‘
उनले शिशुलाई पुलुक्क हेरिन् र आफ्नो छातीमा घुसारिन् । हस्पितल नै थर्किने गरी च्याँ च्याँ रोइरहेको चौथौ पुरुष उनको स्तनको स्पर्श पाएर चुप लागिन् ।
त्यति नै बेला, उनले चालै नपाउने गरी डयुटीमा आएको एक डाक्टरले उनको स्तनपानलाई टुलुटुलु हेरिरहेको रहेछ । त्यो देखेर आतंकित बन्दै, उनले त्यो शिशुलाई बेसरी अँगालोमा कसिन् । र मनमनै भनिन्–दुध मात्र होइन, सके यी स्तन नै कुटुकुटु खाइदेऊ, छोरा । विनाश गरिदेऊ यो मातृत्व रसाउने छातीलाई । डाक्टरले पनि यसकारण हेर्न साहस गर्यो कि जुन छातीमा तिमी दुध खोजिरहेका छौ, त्यो छाती एक बिधवाको छाती हो । एक पुरुषले प्रतिरक्षा गरिरहेको यही नाङ्गो छातीलाई कोही परपुरुषले यसरी हेर्न साहस नगर्ला ! बिधवाको छातीलाई मालीबिनाको फूल देख्ने पुरुषभित्र दुस्साहस कस्ले भरिदियो ? के एक पत्नी नभएको पुरुषलाई नारीहरुले यसरी कामुकता उमारी हेर्न सक्ला र ! संसार विचित्र छ ।
उनले आँखा बन्द गरिन् । खोल्दा मुकदर्शक डाक्टर गइसकेको थियो । त्यति नै बेला सासू कोठामा प्रवेश गरी र उनलाई एउटा सेतो पछयौरी दिँदै बोली, –‘त्यो पछयौरी धेरै मैलो भयो लाऊ यो नयाँ पछयौरी ।’
उनले सासूको मुख टोलाएर हेरिन्, हेर्दै रहिन् । शिशु फेरि रुन थाले– च्याँ, च्याँ । किन रोयो भनेर यसो घोप्टे नजरले छातीमा हेर्दा, आफ्नो मातृत्वको धारा चौथो पुरुष अर्थात शिशुको मुखतिर नभएर अन्तै बगिरहेको रहेछ, जसरी उनको आँसु उनलाई नै छल्दै त्यतिखेर बगिरहेको थियो, आँखाको गहबाट, तपतप… । अँजुलीमा थापेको सेतो पछयौरी, सेतो दुध, सेतै आँसु ।
हेर्दा हेर्दै, उनको संसार नै पलक्षणको लागि सेताम्य हुँदै गइरहेको थियो ।
​अनि त्यही सेतो संसारबाट आफूलाई विवाहको प्रस्ताव गर्ने बिधुर पुरुषको रंगिन संसारलाई सम्झयो अनि सुस्केरा हाल्दै प्रश्न गरिन, के फरक बिधवा र बिधुरमा ? अनि फेरि यो विभेद, कहिलेसम्म, कहिलेसम्म ? त्यो पल, त्यो सेतो पछयौरीलाई हातले थापिरहेको भए पनि मनले भने उनले धर्रर च्यातिरहेकी थिइन् । मनले त्यो सेतो पछयौरी माकुराको जालोजस्तो च्यातिरहेको बेलामा, होस अन्तै भएर, अचानक उनको हातको पछयौरी बेडको मुनि खस्यो । उनले त्यो पछयौरी खसालेको जस्तो पनि देखिन्थ्यो ।
सासुले उनलाई इंगित गर्दै बोली, ‘अलिछिना, पछयौरी किन खसालेको ? जिन्दगीमा ढङ्ग नभएर त यस्तो भइसक्यो ।’
उनले पहिलोपटक सासुको आँखामा आँखा जुधाउँदै बोलिन्, ‘सेतो भएर । अब म सेतो लाउन्न आमा ।’
सासू अवाक भईन्। अवाक भएको सासूलाई टकटकी लगाएर, छोरातिर पुलुक्क हेरिन् । छोराको गालामा गुलाफमा शीत जस्तो प्रतिविम्वित आफ्नै आँसुको एक सेतो बुँदलाई आफ्नो हातले पुछिदिइन् । आँसु पुछिदिएपछिको गाला रातो गुलाफको थुँगा जस्तो खुल्यो, खुल्दै गयो ।
Sent from my iPhone