कथा : मोर्डन मुनामदन

प्रेमकृष्ण श्रेष्ठ, कीर्तिपुर


प्लस टु पढदै गर्दाको किशोरवयको मध्यान्तरको कुरा हो । नाम मुना भएकीले उनलाई जीवनमा सँधै मदनकै पर्खाइ रह्यो । मदनसिवाय अन्त कतै उनको मन गएन । स्कुल पढदा मदन भन्ने कोही केटो नभएकोले उनको प्रेम पनि जुरेन । उनी मनमनै भन्थिन्, आफ्नो जीवनमा मदनसिवाय अरु कसैको लागि स्थान छैन ।
क्लासमा सरले देवकोटाद्वारा रचित ‘मुनामदन’को श्लोक सुनाउँदा क्लासको पछिल्लो बेन्चमा बसिरहेको मदनलाई पुलुक्क हेरी मनमनै भन्थी; “आऊ मदन, हामी पनि एउटा आधुनिक ‘मुनामदन’ रचौँ”।
हँसिली, पोटिली मुनाको लागि कक्षामा धेरैको ‘आइ लभ यु’ आयो । धेरैले उनको प्रेम प्राप्तिका लागि मांसाहारी प्रेमपत्र पठाएर दिलको रंग भनि व्याख्या गरे । जे गर्दा पनि कक्षामा सबैले हार खाइरहेका थिए । उनलाई पर्खाइ थियो त मदनको किनकी उनलाई एउटा फेरि एउटा अर्को मुनामदन रच्नु छ र त्यसरी नै मदनको लागि जीवन उत्सर्ग गरेर धर्तिमा सँधैको लागि अमर हुनुछ ।
उनले सोचेजस्तो उनको जीवनमा मदनको इन्ट्री भयो ‘आइ लभ यु’ सहित । क्या मज्जाको थियो त्यो दिन । बाहिर झमझम पानी परिरहेको थियो । कक्षामा सर आउनु भएको थिएन । मदनले त्यही बेलामा उनलाई सुटुक्क आएर प्रेमपत्र दियो र काँपेका अधर कम्पनबाट ‘आइ लभ यु’ पोखेर गयो । उनी हाँसिन् मरिमरी र मनमनै प्रेमिल हत्केलामा पत्रलाई ओछयाएर बोलिन्, आफ्नी मुनाको लागि मदनको यो कायरता ? तिमीले आइ लभ यु भने पनि नभने पनि म तिम्रै थिएँ र छु । आफै आएर तिम्रो अंगालोमा समेटिनु भएन भावनाले दिल जिति हाल्यौ, अब अंगालोमै भरजुनिको लागि समेट्दा हुन्छ ।
त्यसपछि सुरुवात भयो आधुनिक मुनामदनको कहानि । एउटा नयाँ इतिहासको प्रारम्भ भयो । उनीहरु कैयन ठाउँमा प्रेमविहार गर्न जान थाले । कति कति रमणीय ठाउँमा बसेर प्रेमालाप गर्न थाले । त्यही प्रेमविहार गर्ने क्रममा प्रेमको चौतारीमा उक्लेर वाचा खाए– अब चाँडै एक हुने । घरपरिवारमा विवाहको कुरा चल्यो । मुनामदनको जोडीले शारीरिकरुपमा पनि एकाकार हुने स्वीकृति नै पायो । अनि मदनको एक धर्को सिन्दुर लगाइ, मुनाले मदनको चरण स्पर्श गरी जीवनको अर्को अध्याय सुरु गरे ।
विबाह पछि केही जिम्मेवारी थपिए । एकदिन मदनले मुनालाई भन्यो– जिम्मेवारी धेरै थपिएको छ । म अब दुई चार बर्षको लागि साउदी जान्छु । त्यता राम्रै कमाइ हुन्छ रे । मुनाले पहिला नजाने बिन्ति गरिन् । तर उनको केही लागेन । मदन साउदी अरब जाने भयो । परदेशिने दिन मदनको खुट्टा परेर मुना खुब रोइन ।
मदन गयो साउदी । सुरु सुरुमा त निकै कल गर्थ्यो – मदनले । पछि विस्तारै प्रेमालाप कम हुन थाल्यो । यता मुनालाई पनि फेसबुकमा मदनले भन्दा अरु केटासाथीहरुले नै ‘हाइ’ भन्न थाल्यो । उनको निरस मनले धेरै अनजान केटाहरुको ‘हाइ’सँग ‘हेलो’ साटिन् । एक दर्जन केटाहरुसित ‘हाइहेलो’ कारोबार गर्ने क्रममा, उनले जीवनको निरसतालाई अझ मेटन, त्यसमध्यमा एक जना आत्मीय केटा साथी बनाइन् सुदन नाम गरेको । सुदनसँग उनको भेट बाक्लिन थाल्यो । भेटको घनत्वले हो कि एकदिन सुदनले उनलाई रातको समयमा प्रेम प्रस्ताव राख्ने हिम्मत गर्यो ।
सुदनले लेख्यो – ‘आइ लभ यु, मुना !’
तिमी निकै सेक्सी छौ भनेर सुदनले लेख्दा निर्लज्ज धन्यवादसम्म भन्न भ्याएकी मुनालाई यो प्रस्तावले काउकुति लगायो । उनको मनमा एकतमासको खुसी पनि तरंगित भयो तर एकक्षणमा उनलाई आफ्नो सिन्दुरको सम्झना आयो । पोतेले घोच्यो । चुराले नैतिकता पढायो । रातको सन्नातामा के के सोचेर सुदनको आकस्मिक प्रस्तावलाई इंगित गर्दै लेखिन् – ‘म बिबाहित नारी हुँ । मेरो श्रीमान अहिले विदेशमा हुनुहुन्छ ।’
सुदनले लेख्यो – ‘अहिलेको मोर्डन समयमा यस्ता कुराले केही फरक पर्दैन । मेरी श्रीमती पनि कुबेतमा छिन् । ऊ पनि त कोही केटासँग त्यहाँ मस्ति गर्दै होली । यो पनि भन्छु, त्यहाँ तिम्रो श्रीमानको अरु कोही केटी नभएको भए तिमीलाई यसरी चटक्कै भुल्ने थिएन ।’
उनलाई सुदनको कुरा सत्य नै हो जस्तो लाग्यो । महिनामा एक कल गर्न पनि मदनले आजभोलि त्यागि सकेको थियो । कुरा गरे पनि झर्को मान्थ्यो । यसरी मदनको कल टाढा हुँदै चार महिनामा एक पटक कल आउन थालेको थियो ।
यता सुदनले दिनदिनै मायाप्रेमको कुरा पोखिरहन्थ्यो । सुदनले फूलको कुरा गर्थ्यो, फूलको जवानिको मोल बताउथ्यो । सुदनको कुराले उनले आफ्नो छाति छाम्थिन् । छातिभित्रबाट उनलाई आफ्नै बैशले सरापेको, धिकारेको महसुस हुन्थ्यो ।
यही विषयमा एकदिन मुनाको मदनसित ठूलै झगडा नै भयो । मदनले चार महिनापछि बल्लतल्ल कल गरेको थियो र केही बर्ष अझ भिसा थप्ने कुरा गरेको थियो । मुनाले भिसा थप्ने कुरा गरेको सुन्दा, प्रत्युतरमा तिमी अव छिटै नेपाल आऊ भनिन् । उनको अनुरोधलाई अस्वीकार गर्दै मदनले बोल्यो–‘म अझै दुई बर्ष आउन सक्दिनँ ।
‘मेरो चिन्ता छैन तिमीलाई ? मेरो पनि रहर छ, सन्तानको । आमा हुने ।’
‘अरु दुई चार वर्ष कुर्दैमा तिमी बाझी हुने हो र ? अहिले नै तिमीलाई आमा हुने रहर छ भने त्यता तिमीलाई मन पर्ने कोहीसित घरजम गर्दा हुन्छ ।’
‘मैले यता घरजम गरेर तिमी क्या गर्छौ त ?’
‘मेरो नि यता छ ।’ मदनले झर्केर बोल्यो ।
यस्तो काँडा जस्तो अप्रिय कुरा सुनेपछि अव कहिले कुरा नगर्ने भन्दै मुनाले फोन राखिन् । फोन राख्दा रातको बाह्र बजेको थियो । उनको मन खुब भक्कानियो । चार महिनामा श्रीमतीको लागि भनेर भौतिक शरीर बिनाको रातको दश मिनेट लिएर आउँछ, त्यो पनि पीडा दिएर जान्छ । उनी मदनको वारेमा के के सोच्दै, आँखाभरि आँसु पारेर, झोक्राएर बरिरहेकी थिइन्, त्यतिनै बेला उनको मेसेन्जरमा एउटा टिङ्गरिङ्ग आवाज आयो । कस्को मेसेज हो भनेर यसो हेरेकी त लेखिएको रहेछ – मुना, आइ लभ यु । अझै समय छ – तिम्रो सुदन ।
मेसेज देखेर सुरुमा उनी किंकर्तव्यविमूढ भइन् । त्यति नै बेला रिसाएर बोलेको श्रीमानको कुराले कानमा आगो लगायो– मन पर्ने कोही छ भने उतै घरजम गर्दा हुन्छ । मेरो नि यता छ ।
उनको कानमा श्रीमानको बोलीहरु सल्किँदै गयो । डढेलोको उत्पात रुप लियो । यस्तो कुरालाई सम्झिँदै गर्दा, पातबाट तप्किरहेको शीतको थोपा जस्तो रातको एकान्त चुम्दै खसिरहेका आफ्नो आँसुलाई बेअर्थ देखिन् ।
अन्तत उनले आफ्ना आँखाको आँसु पुछदै, बदलामा उनले सुदनको मेसेजमा प्रेमिल इमोजी पठायो ।
उताबाट चुम्वन आयो ।
यता उनले चुम्वन थप्यो ।
यसरी रातको सन्नाटामा चुम्बन नै चुम्बनको इमोजीहरुले मुनाको मेसेन्जर तन्कियो, लम्बियो । मेसेन्जरभरि रातै रातो प्रेमका गुँरास मात्र फुल्न थाले । मुनाले आफ्नो प्रेम स्वीकार गरेकोमा खुसी हुँदै सुदनले लख्यो– ‘मुनामदनलाई च्यात्यौ कि क्या हो ? अव के कथा लेख्ने बिचार छ त ?’
मुनाले पनि मनोरसमा लेखिन्– ‘मुनासुदन ।’
‘अनि तिम्रो मदन ?’
‘ल्हासामै मरे ।’
दुबै इमोजीले गलल हाँसे ।