सुदर्शन के सी ( शान )
१० श्रावण,काठमाडौँ
बूढानीलकण्ठ नगरपालिका वडा नं ११ शंकरे डाँडामा अवस्थित स्थानीय मायादया क्लिनिकको भवन वडालाई हस्तान्तरण गरिएको छ । स्वास्थ क्षेत्रमा निकै लामो इतिहास बोकेको नेपाल बौद्ध महायान केन्द्र गुम्बा द्वारा निर्मित मायादया क्लिनिक भवन आइतबार बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ११ को कार्यालयमा एक कार्यक्रम आयोजना गरि सोही वडालाई हस्तान्तरण गरिएको हो । तत्कालिन कपन गा. वि.स. अध्यक्ष आत्त्माराम पौडेलको कार्यकाल २०४८ सालमा उनको पहलमा कपन गा. वि.स. परिसरको जग्गामा उक्त गुम्बाद्वारा भवन निर्माण गरि निरन्तर स्वास्थ्य सेवा पुर्याउदै आएको थियो । तत्कालीन अवस्थामा कपन क्षेत्रमा अन्य कुनै स्वास्थ्य केन्द्र, मेडिकल तथा हस्पिटल नहुदा त्यती बेलाका गा.वि.स. अध्यक्ष आत्माराम पौडेलको पहलमा मायादया क्लिनिकले स्वास्थ्य क्षेत्रमा निकै ठूलो योगदान पुर्याएको थियो ।

बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्दव प्रसाद खरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता वडा नं ११ का वडा अध्यक्ष राजु अधिकारीले गरेका थिए । कार्यक्रममा नेपाल गुम्बा विकास समितिका अध्यक्ष खेल्पो गेसी युप्टेन जिगडोल, नगर प्रवक्ता नवराज भट्टराई ,कार्यपालिका सदस्य शान्ता ढकाल , नेपाल बौद्ध महायान केन्द्रका उपाध्यक्ष ग्याल्सेन लामा ,वडा सदस्यहरु बिनोद कुमार तामाङ्ग , रत्ना नगर्ची , बिमल लामा, नेपाली कांग्रेस वडा नं ११ सभापति राधेश्याम कार्की , नेकपा एमाले वडा नं ११ का अध्यक्ष कृष्ण भट्टराई ,माया दया क्लिनिकका महासचिव साङ्गे तेन्जिङ्ग शेर्पा लगायतको उपस्थितिमा रहेको थियो।भवन हस्तान्तरण पश्चात् वडा कार्यालयको तर्फबाट माया दया क्लिनिकलाई धन्यवाद सहित कदर पत्र प्रदान गरिएको थियो।

वडालाई हस्तान्तरण गरिएको उक्त भवनमा नगरपालिकाले स्वास्थ्य सेवा बिस्तार गर्ने जानकारी गराउदै मायादया क्लिनिकले बूढानीलकण्ठ नगरपालिका भित्र मृगौला सम्बन्धि उपचार केन्द्र सन्चालन गरि सेवा पुर्याउने जानकारी दिएको छ ।
