काठमाडौं । कवड्डी–४’ फिल्म हेर्न पुगेका दर्शक र अभिनेत्री मिरुना मगरबीचको विवाद सहमतीमा टुंगिएको छ । फिल्म निर्माण पक्षका अभिनेता दयाहाङ राई, निर्देशक रामबाबु गुरुङ र बौद्ध भिक्षुका तर्फबाट खेन्पो कमल भण्डारी, मिङ्ग्युर तामाङ आदिले संयुक्त हस्ताक्षर गरी विवाद टुंगाइएको हो ।
दुबै पक्षवीच भएको सम्झौता पत्रमा लेखिएको छ, ‘प्रदर्शनरत नेपाली कथानक चलचित्र कवड्डी द फाइनल म्याचको दर्शकसँग साक्षतकार गर्ने क्रममा सिभिल मलको क्युएफएक्स हलमा पुगेकी अभिनेत्री मिरुना मगरमाथि भएको अभद्र व्यवहार सम्बन्धि घटनामा मुगु स्थायी घर भएका फुर्पा तामाङले गल्ती स्वीकार गरी अभिनेत्री मगरसमक्ष माफी मागेको र अभिनेत्री मगरले पनि भाई सम्झेर माफी दिएकी छिन् ।’अभिनेत्रीले कुनैपनि जाति, धर्म, सम्प्रदायप्रति असर पुग्ने आसयले कुनै कार्य नगरेको सम्झौता पत्रमा स्पष्ट पारेकी छिन् ।
‘आकस्मिक प्रतिक्रिया जनाउने क्रममा घटित हुन गएको घटनाबाट सिंगो बौद्द धर्मावलम्बी, भिक्षु, लामा समुदाय तथा सम्प्रदायप्रति पर्न गएको असरप्रति क्षमा याचना गरेकी छिन्’ सम्झौता पत्रमा उल्लेख छ । दुबै पक्षका अभिभावकहरु बसेर आगमी दिनमा यस विषयलाई लिएर विवाद नगर्ने, एक अर्कालाई टिप्पणी नगर्ने, धार्मिक तथा साम्प्रदायिक द्वेष फैलन नदिन सबैसमक्ष अपिल गरिएको उक्त पत्रमा लेखिएको छ ।
सम्झौता पत्रमा अभिनेत्री मगरको पक्षबाट रामबाबु गुरुङ, दयाहाङ राई, मणिराम पोखरेल, विजय बराल, सन्जोग लाफा मगर, पशुपति राई, कालिप्रसाद बास्कोटाले हस्ताक्षर गरेका छन् । यसैगरी फूर्पा तामाङको पक्षबाट खेन्पो कमल भण्डारी, मिङ्ग्युर तामाङ, राजु गुरुङ, कर्मा राप्के, हिस्से लुन्डुप लामाले हस्ताक्षर गरेका छन् । फिल्म हेर्न सुन्धारास्थित सिभिल मलको क्युएफएक्स हलमा पुगेका फूर्पा तामाङले आफुलाई दुर्व्यवहार गरेको भन्दै अभिनेत्री मिरुना तामाङले थप्पड हानेकी थिइन् ।
साथै उनले तामाङलाई प्रहरीको जिम्मा लगाएकी थिइन् । प्रहरीले वौद्ध भिक्षुसमेत रहेका तामाङलाई हिरासतमा राखेपछि उनका पक्षधर ‘रिहाइ’को माग गर्दै विरोधमा उत्रिएका थिए । उनीहरुले विरोध प्रदर्शन गर्दै चावहिलको केएल टावरमा फिल्मको पोस्टर जलाएका थिए । विवादकै कारण केएल टावरस्थित एफक्युब मल्टिप्लेक्सले फिल्म कवड्डी–४ को प्रदर्शन स्थगित गरेको थियो ।