कम्तिमा एक सय सिट राखेर चुनावमा गठबन्धन गर्न नेतृत्वलाई कांग्रेस नेताहरुको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले चुनावी तालमेल गर्दा कम्तिमा सय सिट आफुसँग राख्न नेतृत्वलाई सुझाव दिएका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरुले बहुमतको सरकारका लागि प्रतक्ष्यतर्फ एक सय सिट कांग्रेसले लिनुपर्ने सुझाव दिएका हुन् ।

बाँकी ६५ सिट गठबन्धनका दललाई दिएर मात्रै तालमेल गर्नुपर्ने कांग्रेस नेताहरुको सुझाव छ ।

छलफल गर्दै जाँदा ९० सिटमा कांग्रेस लडेर ७५ सिट गठबन्धनका घटकहरूलाई दिनुपर्नेमा भने सहमत हुन सकिने कांग्रेस नेताहरुको भनाइ छ ।

०७४ सालको निर्वाचन र भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा पाएको मतलाई गठबन्धन निर्माणको आधार बनाउनपनि पदाधिकारीले नेतृत्वलाई सुझाव दिएका छन् ।

सिट बाँडफाँट गर्दा कांग्रेसले आफ्नो हैसियत भुल्न नहुने नेताहरुको भनाइ छ । कांग्रेस नेताहरुले लोसपासहित समेटेर वृहत गठबन्धन बनाउन पहल गर्नुपर्ने पनि प्रस्ताव गरेका छन् ।

बैठकमा बिमलेन्द्र निधिले गठबन्धनमा महन्थ ठाकुर नेतृत्वको लोसपालाई पनि समेटनुपर्ने बताएका हुन् ।

सभापति देउवाले भने गठबन्धनमा लचिलो नभए विपक्षीले हदैसम्म दिएर पनि गठबन्धन गर्न मिहिनेत गरिरहेको भन्दै त्यसतर्फ ध्यान दिन नेताहरुलाई आग्रह गरेका छन् ।

यसैबीच नेपाली कांग्रेसले स्थानीय तहमा निर्वाचित पालिका प्रमुख र उपप्रमुखका लागि अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ ।

शीर्ष नेताको बैठकले साउन ३० र ३१ गते प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको हो । प्रशिक्षणमा कांग्रेसबाट निर्वाचित देशैभरका जनप्रतिनिधि सहभागी हुनेछन् ।