कम्बोडियामा जल्दै गएको १२औँ तलाबाट हाम फाल्नु अघि निराकारले छोरालाई भने : बाबा अलवेज लभ्स यू

काठमाडौं । कम्बोडियाको एक होटलमा भएको आगलागीमा परी एक जना नेपालीको ज्यान गएको छ । उनी झापा घर भएका निराकार पाण्डे रहेको थाइल्याण्डस्थित नेपाली दूतावासले जनाएको छ । ग्रान्ड डायमन्ड सिटीको भवनमा आगलागी हुँदा ज्यान गुमाएका १९ जनामध्ये एक जना झापाका पाण्डे हुन् । आगलागी भएको ठाउँ कम्बोडिया र थाइल्यान्डको सीमा नजिकै पर्छ ।

विर्तामोड नगरपालिका वडा नम्बर १ झापाका पाण्डेले ज्यान जानुअघि आफ्नो परिवारसँग भाइवरमार्फत् गर्नुभएको भिडियो कलको रेकर्ड पनि सार्वजनिक भएको छ । भिडियो कलमा पाण्डेले आफू होटलको १२औँ तलामा रहेको र अब त्यहाँबाट हामफाल्नुको विकल्प नरहेको बताएका छन् ।

उनले आफ्नो छोरालाई सम्बोधन गर्दै भनेका छन्, सानु, मेरो आँखाको नानी बाबु, म तिमीलाई धेरै माया गर्छु है । बाबा अल्वेज लभ्स यु । जहाँ भए पनि, जसरी बसे पनि बाबाले तिमीलाई सधैँ सम्झनुहुन्छ है, बाबु । आर्मन इज द बेस्ट है सानु ।’ उनले छोरालाई कसैलाई ‘चिट र फ्रडु नगर्न’ भन्दै सम्झाएका थिए ।

भवनभित्र धुवाँभरिएपछि उद्धारमा समस्या भएको थियो भने विद्युत् बन्द हुँदा ढोकामा रहेको विद्युतीय प्रणाली बन्द हुँदा मानिसहरु बाहिर निस्कन नसकी झ्यालबाट हाम फालेका थिए । घटनामा झण्डै ५० जना घाइते भएका बीबीसीले जनाएको छ । उनी झण्डै ४ घण्टासम्म झ्यालमा बस्दा समेत उद्दार नभएपछि बाध्य भएर हाम फालेका थिए । सोही क्रममा उनको ज्यान गएको हो । घटनापछि कम्बोडियाको आपतकालिन उद्धारको् क्षमतालाई लिएर आलोचना समेत भइरहेको छ ।